Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 28

पूजाहारीहरूको निम्ति पोशाक

28 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।

“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्। इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ। ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्। ती मानिसहरूलाई भन यी पोशाकहरू बनाउँदा सुनको धागो, मिहीन वस्त्र र निलो, बैजनी अनि रातो धागो प्रयोग गरून्।

एपोद र पेटी

“एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ। यी दुवै टुक्राले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।

“यी मानिसहरूले एपोदको निम्ति पेटी पनि अत्यन्तै सावधानीसित बनाउनु पर्छ। पेटी पनि तिनीहरूले एपोद बनाउँदा जस्तै सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा, निलो, बैजनी अनि रातो धागोहरूले बनाउनु पर्छ।

“गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख। 10 तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सूचित गर। 11 इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ। 12 तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ। 13 सुनका दुइवटा आकारहरू बनाऊ अनि 14 शुद्ध सुनका धागोहरू बाटेर दुइवटा साङ्गली बनाऊ र दुइ समूहलाई जोडी देऊ।

न्यायको थैली

15 “प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ। 16 न्यायको थैली दोबारेको चारपाटे हुनुपर्छ। त्यो थैली एक बित्ता लामो र एक बित्ता चौंडाइको हुनुपर्छ। 17 न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना, 18 दोस्रो लहरमा फिरोजा, नीलम र लालहीराको, 19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला र 20 चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फाटिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ। 21 प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासँग गरिएको हुनु पर्छ।

22 “न्याय थैलीको निम्ति शुद्ध सुनको साङ्गली बनाऊ। यी साङ्गलीहरू डोरी जस्तै बटारिएको हुनुपर्छ। 23 सुनका दुइवटा मुन्द्रीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेऊमा जोडी देऊ। 24 दुइवटा सुनको डोरीहरू दुइवटा मुन्द्रीहरू न्यायको थैलीमाथि छेउमा जोडी देऊ। 25 दुवै साङ्गलाहरू मिलाएर एपोदको कुममाथि चौखटमा साङ्गलाको अर्को अन्त बाँध। यसले न्यायको थैलीलाई एपोदको अघि थाम्छ। 26 अझै दुइवटा सुनको मुन्द्रीहरू बनाऊ अनि तिनलाई न्यायको थैलीको अर्को दुइ कुनामा राखिदेऊ। यो एपोदको छेऊमा न्यायको थैलीको भित्री भागमा हुनेछ। 27 अझै दुइवटा सुनको कुण्डलहरू बनाएर एपोदको अघाडीपट्टिको भागमा काँधको मुनि राख। एपोदको पेटीमाथि सुनका मुन्द्रीहरू लगाऊ। 28 न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेटी नजिक रहन्छ र एपोदसित बाँध।

29 “हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ। 30 ऊरीम र तुम्मीम सधैँ त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

पूजाहारीको निम्ति अन्य पोशाक

31 “एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ। 32 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ। 33 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ। 34 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ। 35 हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन् घण्टीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।

36 “मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप परमप्रभुको निम्ति पवित्र। 37 यो फेटामा निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अघिल्तिर हुनुपर्छ। 38 हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैँ आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू परमप्रभुले ग्रहण गर्नु हुनेछ।

39 “सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ। 40 हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्। 41 हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।

42 “पोशाकहरूको लागि सुती लुगा प्रयोग गर। त्यो पोशाक तिनीहरूले कमरदेखि तिग्रासम्म लगाउँनु पर्छ। 43 हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”

यूहन्ना 7

येशू र उहाँका भाइहरू

यो घट्ना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए। त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो। तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्। यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।” (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)

येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ। संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ। यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।” त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।

10 तब येशूका भाइहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो। 11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिनीहरूले भने, “त्यो मानिस कहाँ छ?”

12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरूले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।” 13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसँग डराउँदथे।

येशूले यरूशलेममा शिक्षा दिनुभयो

14 त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो 15 यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”

16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो। 17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ। 18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन। 19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”

20 मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”

21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ। 22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ। 23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ? 24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”

येशू नै ख्रीष्ट हो भनेर मानिसहरू छक्क परे

25 यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्? 26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे? 27 तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”

28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ। 29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”

30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन। 31 तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर पर्खिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नु हुन्छ र? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”

यहूदीहरूले येशूलाई पक्रने प्रयास गरे

32 फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्य पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए। 33 तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसँग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो। 34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”

35 यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन्, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्? 36 उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”

पवित्र आत्माको विष्यमा येशूले भन्नु हुन्छ

37 पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ। 38 यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।” 39 येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।

येशूको विषयमा मानिसहरूको वाद-विवाद

40 मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”

41 अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”

अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन। 42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।” 43 तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्। 44 कोही मानिसहरूले येशूलाई पक्रन चाहन्थे। तर कसैले पनि तिनीमाथि आफ्नो हात हालेनन्।

यहूदी अगुवाहरूले विश्वास गर्न अस्वीकार गरे

45 तब मन्दिरका पहरेदाहरू, मुख्या पूजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदाहरू सोधे, “तिमीले किन येशूलाई ल्याएनौ?”

46 मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”

47 फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ। 48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन! 49 तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”

50 तर निकोदिमस् ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने, 51 “हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”

52 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।”

व्यभिचारमा समातिकी आइमाई

53 [a] सबै यहूदी अगुवाहरू आ-आफ्ना घर गए।

हितोपदेश 4

ज्ञानको महत्व

हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ। म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।

एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो। अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ। ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु। ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।

“सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच। ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ। उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।”

10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। 11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु 12 जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन। 13 अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।

14 दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। 15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्‌यूँ फर्काई देऊ अनि टाढा हिँड। 16 दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। 17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।

18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ। 19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ।

20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। 21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। 22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। 23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

24 तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। 25 तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। 26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। 27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

गलाती 3

परमेश्वरको आशिष विश्वासबाट आउदछ

हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ। मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।

अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”(A) यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”(B) अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

10 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”(C) 11 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”(D)

12 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”[a] 13 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।”(E) 14 परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।

व्यवस्था र वचन

15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। 16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ। 17 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।

18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।

19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। 20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।

मोशाको व्यवस्थाको उद्देश्य

21 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं। 22 तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।

23 जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं। 24 यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौं। 25 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।

26-27 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौं। तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ। 28 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हौ। 29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International