M’Cheyne Bible Reading Plan
इस्राएलसित परमेश्वरको करार पत्र
19 इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। 2 तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। 3 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, 4 ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। 5 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। 6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
7 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। 8 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”
त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। 9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।”
त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।
10 अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ। 11 अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। 12-13 तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।”
14 यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।
15 तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।”
16 तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। 17 तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। 18 सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। 19 तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।
20 अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।
21 परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। 22 पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।”
23 मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।”
24 परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।”
25 यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।
यहूदी नेताहरू येशूलाई मार्न चाहन्छन्
(मत्ती 26:1-5,14-16; मर्कूस 14:1-2,10-11; यूहन्ना 11:45-53)
22 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। 2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
येशूको विरूद्ध यहूदाको योजना
(मत्ती 26:14-16; मर्कूस 14:10-11)
3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। 4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो। 5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। 6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।
निस्तार चाडको खाना तयारी
(मत्ती 26:17-25; मर्कूस 14:12-21; यूहन्ना 13:21-30)
7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे। 8 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
9 पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”
येशूले तिनीहरूलाई भने, 10 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग। 11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’ 12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”
13 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
प्रभु भोज
(मत्ती 26:26-30; मर्कूस 14:22-26; 1 कोरिन्थी 11:23-25)
14 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए 15 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो। 16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ। 18 म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
19 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।” 20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
येशूको विरुद्ध को जानसक्छ
21 येशूले भन्नुभयो, “तिमीहरू मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ। 22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”
23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
नोकर जस्तो व्यवहार गर
24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। 25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। 26 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ। 27 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठूलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
28 “तिमीहरू तिनीहरू हौ जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं। 29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु। 30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
आफ्नो विश्वास नहराऊ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; यूहन्ना 13:36-38)
31 “शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, 32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
33 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसँग तयार छु।”
34 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
कष्ट सहन तयार बस
35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”
प्रेरितहरूले भने, “भएन।”
36 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसँग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसँग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख। 37 धर्मशास्त्रले यो भन्छ,
‘मानिसहरूले भने उनी अपराधीहुन्।’(A)
धर्मशास्त्रमा लेखिएका कुरा साँच्चो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँच्चो भइरहेछ।”
38 चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!”
येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”
येशूले प्रेरितहरूलाई प्रार्थना गर्नु भन्नुभयो
(मत्ती 26:36-46; मर्कूस 14:32-42)
39-40 येशूले शहर (यरूशलेम) छोड्नु भयो अनि सधैँ झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसँगै गए। जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
41 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।” 43 त्यसपछि स्वर्गबाट एउटा दूत देखा पर्यो अनि येशूलाई दृढ बनायो। 44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसँग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो। 45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए। 46 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”
येशू पक्राउ पर्नुभयो
(मत्ती 26:47-56; मर्कूस 14:43-50; यूहन्ना 18:3-11)
47 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?” 49 येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
51 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
52 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ? 53 म तपाईंहरूसँगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
येशूलाई पत्रुसले अस्वीकार गरे
(मत्ती 26:57-58,69-75; मर्कूस 14:53-54,66-72; यूहन्ना 18:12-18,25-27)
54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्। 55 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसँगै बसे। 56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।”
57 तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।” 58 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।”
तर पत्रुस ले भने, “मानिस, म हैन”
59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
60 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?”
जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो। 61 त्यसपछि प्रभु येशू फर्कनु भयो अनि पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।” 62 त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ-ग्वाँ रोयो।
मानिसहरूदारा येशूको उपहास
(मत्ती 26:67-68; मर्कूस 14:65)
63-64 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?” 65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।
यहूदी अग्रजहरूको अघि येशू
(मत्ती 26:59-66; मर्कूस 14:55-64; यूहन्ना 18:19-24)
66 अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे। 67 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन। 68 अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न। 69 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
70 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”
71 तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!”
37 “चट्याङ् र आँधिबेहरीले मलाई भयभीत पार्छ,
छातीभित्र मुटु ढुक-ढुक गर्छ।
2 सबैले सुन! परमेश्वरको आवाज चट्याङ् जस्तो सुनिन्छ।
परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
3 परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ
अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
4 बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ।
परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ।
जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।
5 परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ।
उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
6 परमेश्वरले हिंऊलाई भन्नुहुन्छ,
‘पृथ्वीमा झर’
अनि परमेश्वरले बर्षालाई भन्नु हुन्छ,
‘पृथ्वीमाथि खनिईं।’
7 परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले,
उहाँले के गर्नु सक्नु हुन्छ थाहा गरून् भनी उहाँले
त्यसो गर्नु हुन्छ, त्यो उहाँको प्रमाण हो।
8 जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।
9 भुँवरी दक्षिणबाट चल्छ।
चिसो हावा उत्तरबाट आउँछ।
10 परमेश्वरको स्वासले वरफ बनाउँछ,
अनि समुद्रहरू जमाउँछ।
11 परमेश्वरले बादलमा पानी भर्नुहुन्छ,
अनि गर्जने मेघ फैलाउनु हुन्छ।
12 परमेश्वरले बादललाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ।
बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।
13 बाढी ल्याई मानिसहरूलाई सजाय दिन
अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।
14 “अय्यूब, एक मिनेट उभिएर सुन,
परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
15 अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादललाई वशमा राख्नुहुन्छ?
के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनुँ हुन्छ?
16 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्?
परमेश्वरले बनाउनु भएका अनौंठो सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो।
अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
17 तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ।
जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरका लुगाहरू टाँसिन्छन्,
अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
18 अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ,
अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
19 “अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ!
तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।
20 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु।
त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
21 एउटा मानिसले घाम हेर्न सक्तैन।
बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।
22 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ।
पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
23 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ।
हामी परमेश्वरलाई बुझ्न सक्तैनौं।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ।
परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
24 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्छन्।
तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न,
किनभने तिनीहरू आफैंलाई ज्ञानी ठान्दछन्।”
7 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।
पावलको आनन्द
2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। 3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, 4 म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु।
5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। 6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। 7 तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।
8 मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो। 9 अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। 10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। 11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो। 12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो। 13 त्यसैकारण हामी सुखी थियौं।
हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए। 14 मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ। 15 अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ। 16 म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।
© 2004, 2010 Bible League International