M’Cheyne Bible Reading Plan
दश आज्ञाहरू
20 तब परमप्रभुले भन्नुभयो,
2 “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।
3 “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।
4 “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। 5 कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। 6 तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
7 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।
8 “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। 9 हप्तामा छ दिन आफ्नो काम गर। 10 तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। 11 किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
12 “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्नु पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
13 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
14 “तिमीले व्यभिचार गर्नु हुँदैन।
15 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।
16 “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।
17 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”
मानिसहरू परमेश्वरसित डराउँछन्
18 यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे। 19 तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसँग कुरा नगरून्। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”
20 तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”
21 जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए। 22 तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे। 23 यसकारण म सँग-सँगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।
24 “मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेंडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशीर्वाद दिन्छु। 25 यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ। 26 वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन। तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”
बडा़ हाकीम पिलातसद्वारा येशूलाई प्रश्न
(मत्ती 27:1-2,11-14; मर्कूस 15:1-5; यूहन्ना 18:28-38)
23 त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए। 2 तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”
3 पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?”
येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”
4 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”
5 तिनीहरूले घरि-घरि भने, “तर यो मानिसले! यहूदियाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”
पिलातसद्वारा येशूलाई हेरोदकहाँ पठाइन्छ
6 यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे। 7 पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
8 जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे। 9 हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन। 10 मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए। 11 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए। 12 बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।
येशूको प्राणान्त
(मत्ती 27:15-26; मर्कूस 15:6-15; यूहन्ना 18:39–19:16)
13 पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू लगायत सबै मानिसहरूलाई बोलाए। 14 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषारोपणमा मैले उहाँमाथि कुनै दोष पाईंन। 15 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्। 16 यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।” 17 [a]
18 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।” 19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।
20 पिलातसले येशूलाई मुक्त गर्न चाहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे। 21 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्ड्याऊ, उसलाई क्रूसमा झुण्ड्याऊ।”
22 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइनँ। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”
23 तर येशूलाई क्रूसमा झुण्ड्याएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे। 24 तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए। 25 मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।
येशूलाई क्रूसमा झुण्ड्याएर मारियो।
(मत्ती 27:32-44; मर्कूस 15:21-32; यूहन्ना 19:17-19)
26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।
27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। 28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! 29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ 30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’(A) 31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”
32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। 33 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”
सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। 35 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?”
36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। 37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” 38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”
39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
40 तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। 41 तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” 42 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
43 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”
येशूले प्राण त्याग्छन्
(मत्ती 27:45-56; मर्कूस 15:33-41; यूहन्ना 19:28-30)
44 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। 45 सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो। 46 येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
47 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
48 धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए। 49 येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाढा़ थिए अनि हेरिरहेका थिए।
अरमथियाका योसेफ
(मत्ती 27:57-61; मर्कूस 15:42-47; यूहन्ना 19:38-42)
50-51 यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।
52 तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए। 53 अनि यूसुफले क्रूसबाट शरीरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन। 54 त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।
55 गालीलबाट येशूसँगै आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे। 56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
परमेश्वर अय्यूबसित बोल्नु हुन्छ
38 तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
2 “त्यो अज्ञानी मानिस को हो?
जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।”
3 अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
4 “तिमी कहाँ थियौ[a] जब मैले पृथ्वी सृष्टि गरें?
यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
5 यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो?
कसले संसारलाई नापजोख गर्यो?
6 पृथ्वीको आधारशिला के हो?
कसले यसमा प्रथम ढुङ्गा राख्यो?
7 जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए
अनि दूतहरू आनन्दले कराए।
8 “अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो
त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
9 त्यसबेला यसलाई मैले बादलहरूले ढाकें
अनि अँध्यारोमा लपेटें।
10 मैले समुद्रको सीमा बाँधें
अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
11 मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेढी होइनँ।
यसरी तिम्रो अहंकारी छालहरू रोकिनेछ।’
12 “अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ
अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
13 अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ
अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
14 बिहानको उज्यालोले पहाडहरू
र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ
जब दिनको उज्यालो पृथ्वीमा आउँछ,
ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन्।
नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै
पृथ्वीले आकार धारण गर्छ।
15 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्।
किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
16 “अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ?
तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
17 अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ?
तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
18 अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ?
यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
19 “अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ?
अन्धकार कहाँबाट आउँछ?
20 अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउनँ सक्छौ?
के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
21 निःसन्देह तिमी ती कुराहरू जान्दछौ अय्यूब, तिमी धेरै बृद्ध र ज्ञानी छौ।
जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यहीं थियौ?
22 “अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ
जहाँ मैले हिऊँ र असिना राख्छु?
23 मैले हिऊँ र असिना सङ्कट र लडाइँ,
युद्धको समयको लागि बचाएर राखेको छु।
24 तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ
र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
25 अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने?
कसले आँधी वेरी आउने बाटो बनाए?
26 कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
27 त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ
अनि घाँस उम्रन थाल्दछ।
28 के बर्षाको पिता छ
जसले शीतका थोपाहरू उब्जाउँदछ?
29 के हिंऊको आमा छ?
जसले असिनालाई जन्म दिन्छ?
30 पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ
अनि महासागरको सतह जम्छ।
31 “अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ?
के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
32 के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ?
अथवा के तिमी भालूको बच्चाहरूलाई[b] गुफाबाट निकाल्न सक्छौ?
33 के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ?
के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
34 “अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ
अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
35 के तिमीले चट्याङलाई आदेश दिन सक्छौ?
के यो तिम्रो छेउमा आएर भन्न सक्छ, ‘हामी यहाँ छौ, तपाईं के चाहनु हुन्छ महाशय?’
के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?
36 “अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो?
कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?
37 त्यस्तो ज्ञान कस्को छ जसले बादल गन्न सक्छ
अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
38 यसैले धूलो हिलो बनिन्छ
र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।
39 “अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ?
के तिमी तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?
40 ती सिंहहरू आफ्ना गुफामा लुकीरहेका छन्।
आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
41 जब त्यसका बच्चाहरू अति भोकाएर परमेश्वरलाई पुर्कादा,
भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?
ख्रीष्टिय दान
8 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। 2 ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। 3 ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। 4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। 5 अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ। 6 यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे। 7 तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।
8 मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। 9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। 11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ। 12 तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन। 13 जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं। 14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। 15 धर्मशास्त्रमा यस्तै लेखिएको छः
“जसले धेरै बटुल्यो उसको धेरै रहेन,
जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”(A)
तितस र उनका साथीहरू
16 म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ। 17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो। 18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्। 19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
20 यो घरै धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सर्तक छौं। 21 हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैँ अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्। 24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
© 2004, 2010 Bible League International