M’Cheyne Bible Reading Plan
बजलेल र ओहोलीआब
31 तब परमप्रभुले मोशालाई भन्नु भयो, 2 “यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु। 3 मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु। 4 उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने ऊ एउटा राम्रो शिल्पकार हो। 5 बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अनि सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ। 6 दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।
7 भेट हुने पाल, कराको सन्दूक,
सन्दूकको ढकनी,
भेट हुने पालका सबै सामानहरू,
8 टेबल अनि त्यसका सबै सामानहरू,
सामदान र यसका सबै सामानहरू,
धूप जलाउने वेदी,
9 होमबलिको निम्ति वेदी
र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।
10 पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू,
हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
11 अभिषेकको निम्ति सुगन्धित तेल
अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए
अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”
विश्राम दिन
12 तब परमप्रभुले मोशालाई भन्नु भयो, 13 “इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
14 “‘विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ। 15 काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ। 16 इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्। 17 विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो।’” (परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।)
18 यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।
भेंडा़वाला र उसको भेडो
10 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब कुनै पनि एक मानिस भेंडा़-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो। 2 तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो। 3 जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेंडा़ले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेंडा़हरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्। 4 गोठालाले सबै भेंड़ाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेंडा़हरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्। 5 भेंडा़हरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
6 यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
येशू असल गोठालो हुन्
7 येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। 8 जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। 9 म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। 10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
11 “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। 12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। 13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन।
14-15 “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। 16 मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। 17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। 18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”
19 फेरि यहूदीहरू आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो। 20 धेरै यहूदीहरूले भने, “भूतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
21 तर अन्य यहूदीहरूले भने, “भूतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भूतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अँहँ!”
येशूको विरुद्ध यहूदीहरू
22 यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड़[a] पनि आयो। 23 येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो। 24 यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”
25 येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। 26 तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ। 27 मेरो भेंडा़हरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। 28 म मेरा भेंडा़हरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। 29 मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन। 30 पिता र म एकै हौं।”
31 फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। 32 तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
33 यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
34 येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।’(A) 35 यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्र सधैँ सत्य छ। 36 यसर्थ तिमीहरू मलाई किन भन्छौ, तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो। 37 यदि मैले मेरा पिताको कामहरू गर्दिन भने मलाई विश्वास नगर। 38 तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
39 यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।
40 त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए। 41 येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँच्चो थियो।” 42 अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।
ज्ञानले तिमीलाई व्यभिचारिणीबाट टाढा राख्छ
7 हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्। 2 तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख। 3 तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख। 4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!” 5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।
6 एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें 7 अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ। 8 त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। ऊ उसको घरको दिशातिर अगि बढिरहेको थियो। 9 अस्ताउने घामले गोधुली बेलालाई डाक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो। 10 त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई। 11 ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ। 12 त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउन कुना काप्चाहरू तिर लुकेर बस्थी। 13 उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी, 14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्। 15 यसैकारण म तपाईंलाई खोज्न बाहिर निस्केर आइरहेकी थिएँ अनि अहिले तपाईलाई भेटें। 16 मैले मेरो ओछ्यानमा मिश्रदेशको रङ्गीन च्यादरले सजाएकीछु। 17 मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु। 18 मसित आऊ, रात भरी हामी प्रेमको अङ्गालोमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं। 19 मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्। 20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”
21 त्यस स्त्रीले उसलाई फँसाउन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो। 22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ। 23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।
24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ। 25 तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क। 26 त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। 27 त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।
एक अर्कोलाई सघाऊ
6 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। 2 एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। 3 यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। 4 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। 5 प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।
जीवन खेत रोपे जस्तो हो
6 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।
7 आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। 8 यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। 9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
पावल आफ्नो पत्र समाप्त गर्छन्
11 यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।
14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।
17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।
18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।
© 2004, 2010 Bible League International