M’Cheyne Bible Reading Plan
नयाँ शिला पाटीहरू
34 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ। 2 भोलि बिहानै तयार भएर सीनै पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोआघि उभिनु। 3 तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेंसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेंडाहरू चर्न पाउने छैनन्।”
4 यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै ऊ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए। 5 परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे। 6 परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु। 7 एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”
8 तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने, 9 “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसँग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”
10 तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसँग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ। 11 आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोड्न जोड लगाउनेछु। 12 तर होशियार होऊ, कुनै मानिससँग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्। 13 यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा-टुक्रा पारिदेऊ। 14 अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ ‘एल-कनाह’ हो डाह गर्ने परमेश्वर।
15 “होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसँग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्। 16 तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।
17 “मूर्तिहरू नबनाऊ।
18 “अखमिरे रोटीको चाड़ मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो आबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियौ।
19 “गाई वस्तु होस् अथवा भेंडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो। 20 प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मुण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन।
21 “तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।
22 “साताको चाड़ पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड़ ऋतुको आखिरमा मनाऊ।
23 “बर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।
24 “तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू बर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुन्ने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।
25 “जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसँग कुनै खमीर नचढाऊ।
“निस्तार चाड़को मासु अर्को बिहानसम्म नराख।
26 “तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।
“कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”
27 परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन्, जुन मैले तिमी र इस्राएलीहरूसँग गरिरहेकोछु।”
28 त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसँग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।
मोशाको उज्जवल अनुहार
29 त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। 30 हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। 31 मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। 32 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए।
33 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। 34 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। 35 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।
येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो
13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2 येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। 3 पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। 4 जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। 5 तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6 येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7 येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”
8 पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”
येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9 शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”
10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
18 “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’ 19 अब यसो हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ। 20 यसर्थ म साँच्चो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
येशूले धोखा दिनेको विषयमा भन्नुहुन्छ
(मत्ती 26:20-25; मर्कूस 14:17-21; लूका 22:21-23)
21 जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँच्चो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22 येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो। 23 उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो। 24 शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25 त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26 येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो। 27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!” 28 भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्। 29 यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30 यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ
31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
येशूले भन्नुहुन्छ कि पत्रुसले उहाँलाई इनकार गर्नेछ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; लूका 22:31-34)
36 शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”
येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37 पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38 येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँच्चो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
सुलेमानका हितोपदेशहरू
10 एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।
2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।
3 परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
4 अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ।
5 ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ, त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।
6 ईमानदार मानिसको शिरमाथि आशीषहरू बर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।
7 एकजना ईमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आउँछ।
8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।
9 ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।
11 ईमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।
12 घृणाले झगडा़ उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।
13 बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्यूँमा लट्ठीले हिर्काइन्छ।
14 बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीले आपद-विपदहरू मात्र बोलाउँछ।
15 धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।
16 एकजना ईमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।
17 आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
18 जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
19 धेरै बोल्ने मानिसले प्रायः समस्या उब्जाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
20 ईमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।
21 ईमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्ख्याईंले उसलाई मार्छ।
22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।
24 दुष्ट मानिसहरू जे कुरामा डराउँछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।
25 आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।
26 जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।
27 परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।
28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूका आशाहरू शुन्यमा अन्त हुन्छ।
29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।
30 धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।
31 धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।
32 एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।
अन्य जातीहरूमा पावलको काम
3 यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। 2 अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। 3 परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। 4 अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। 5 अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। 6 गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।
7 परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। 8 परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। 9 अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो।
10 उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। 11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। 12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। 13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।
ख्रीष्टको प्रेम
14 यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। 15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। 16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। 17 तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। 18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। 19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।
20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। 21 मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।
© 2004, 2010 Bible League International