M’Cheyne Bible Reading Plan
पूजाहारीहरू नियुक्त हुँदा मनाइने उत्सव
29 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेंडाको पाठाहरू जोगाड गर। 2 त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पात्लो रोटी बनाएर त्यसमाथि तेल छर्क। 3 रोटीहरू डालोमा हाल र यो हारून अनि उसको छोराहरूकहाँ साँढे अनि पाठाहरूसँगै ल्याऊ।
4 “त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ। 5 हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ। 6 उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ। 7 हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।
8 “त्यसपछि हारूनका छोराहरूलाई त्यस स्थानमा ल्याऊ। बुनेको सेतो लबेदा तिनीहरूलाई लगाई देऊ। 9 त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।
10 “त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून। 11 तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार। 12 बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ। 13 बाछाको आन्द्रा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ। 14 बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।
15 “त्यसपछि हारून अनि उसको छोराहरूलाई भेंडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राख्नु भन। 16 त्यसपछि त्यो भेंडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ। 17 तब भेंडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेंडाको चीजहरू यसको शिरसितै राख। 18 तब सम्पूर्ण भेंडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।
19 “हारून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राख्नु भन। 20 त्यस भेंडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क। 21 त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।
22 “त्यसपछि भेंडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्द्रा भुँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि दुवै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल। 23 त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ। 24 ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन। 25 त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।
26 “त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा प्रयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ। 27 तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा प्रयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ। 28 इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैँ दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।
29 “हारूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्। 30 हारून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हारूनको त्यस छोराले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।
31 “हारूनलाई प्रधान पूजाहारी बनाउँदा प्रयोग गरिएको भेंडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ। 32 त्यसपछि हारून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालोमा भएको रोटी पनि खाने छन्। 33 यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्। 34 यदि हारूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खानु हुदैन किनभने तिनीहरू पवित्र छन्।
35 “तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ। 36 यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ। 37 सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
38 “प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक बर्षे थुमाबलि चढाउनु पर्छ। 39 तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ। 40-41 जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहुँको पिठोसित भद्राक्षको एक पावा कुटेको तेल अनि एक पावा दाखरसको अर्घबलि यो बलिमा मिसाऊ र चढाऊ। जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
42 “तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुन्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु। 43 त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैँ पवित्र बनिरहनेछ।
44 “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्। 45 म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसँग बस्ने छु। 46 तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”
8 येशू जैतून डाँडामा जानुभयो। 2 बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।
3 शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए। 4 तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई। 5 मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?”
6 यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो। 7 यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।” 8 तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो।
9 जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई। 10 येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”
11 उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”
तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
येशू, संसारको ज्योति
12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”
13 तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफैं आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
14 येशूले जवाफ दिनुभयो, “हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु। 15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। 17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुइ जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ। 18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”
19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”
येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।” 20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।
येशूको विषयमा यहूदीहरूले बुझेनन्
21 फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”
22 तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैंलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ’?”
23 तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर म माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन। 24 मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
25 यहूदीहरूले सोधे, “तब तिमी को हौ?”
येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ। 26 तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
27 येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो। 28 यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। 29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।” 30 जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।
येशूले मुक्त हुने विषय बताउनु हुन्छ
31 तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ। 32 तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”
33 यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
34 येशूले जवाफ दिनुभयो, “म साँच्चो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो। 35 दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ। 36 यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ। 37 म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ। 38 म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”
येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। 40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। 41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”
तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”
42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। 43 तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। 44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।
45 “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? 47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ
48 यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?”
49 येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। 51 म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
52 यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ 53 के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। 56 तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”
57 यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!”
58 येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” 59 जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
व्यभिचारबाट जोगाऊने ज्ञान
5 हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। 2 यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओंठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्। 3 कारण पर-स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ। 4 तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। 5 पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। 6 उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।
7 यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। 8 स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ। 9 नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ। 10 यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्। 11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। 12-13 तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ। 14 म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।”
15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। 16 तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्। 17 त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्। 18 तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर। 19 ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैँ तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैँ बाँधोस्। 20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अङ्गालो हाल्नै पर्छ?
21 परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ। 22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ। 23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।
4 म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ ऊ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ। 2 किनभने बालक छउन्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ। 3 हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं। 4 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो। 5 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।
6 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।”
7 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।
गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम
8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। 9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? 10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्?
12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। 13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। 14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। 15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। 16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?
17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। 18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। 19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। 20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
हागार र साराको उदाहरण
21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ? 22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई। 23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।
24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो। 25 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्। 26 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्। 27 धर्मशास्त्रमा यो लेखिएको छः
“खुशी होऊ, हे बाँझी नारी,
जसले कुनै बालकलाई जन्म दिनु सकिनौ,
हर्षले कराऊ, जोडले चिच्याऊ,
की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ।
त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्,
पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”(A)
28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो। 29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ। 30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”(B) 31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।
© 2004, 2010 Bible League International