M’Cheyne Bible Reading Plan
मोशाको गीत
15 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः
“म परमप्रभुको निम्ति गाउनेछु!
उहाँले महान कार्य गर्नु भयो।
उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा
फ्याँकि दिनुभयो।
2 परमप्रभु मेरो शक्ति हुनुहुन्छ,
उहाँले मलाई बचाउनु हुन्छ।
परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ,
अनि म उहाँको स्तुति गर्छु।
परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ,
अनि म उहाँको आदर गर्छु।
3 परमप्रभु एउटा योद्धा हुनुहुन्छ,
उहाँको नाउँ परमप्रभु हो।
4 उहाँले फिरऊनका रथहरू,
र सेनालाई समुद्रमा मिल्काई दिनु भयो।
फिरऊनका अत्यन्तै असल सैनिकहरू
लाल समुद्रमा डुबे।
5 गहिरो पानीले तिनीहरूलाई डुबायो,
अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।
6 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ।
हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,
जसले तपाईंको विरोध गरे।
तपाईंको रीसले परालको आगोले झैं
तपाईंका शत्रुहरूलाई जलायो।
8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई
एक ठाउँमा थुपारी दियो।
बगिरहेको पानी पर्खाल झैं उभियो।
समुद्रको गहिराइ सतहमा ठोस बनियो।
9 “शत्रुले भन्यो,
‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु,
म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु।
म मेरो तरवार निकाल्नेछु
र तिनीहरूलाई पराजित गर्नेछु।’
10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो
अनि तिनीहरू समुद्रमा ढाकिए।
तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।
11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?
अँह, तपाईं झैं अन्य देवता कतै छैनन्-
तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ!
तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ!
तपाईं अचम्मको काम गर्नुहुन्छ।
12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ,
अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
13 तर आफूले बचाएका मानिसहरूलाई
तपाईंको दयाले डोर्याउनु हुन्छ।
अनि आफ्नो क्षमताले तिनीहरूलाई
पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।
14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्
र तिनीहरू डराउने छन्।
पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,
मोआबका प्रमुखहरू डरले काम्नेछन्।
कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्
तिनीहरू भयभीत हुनेछन्।
जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्,
तिनीहरू चट्टान जस्ता हुनेछन्।
17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।
तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा
तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ।
18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”
19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूख्खा भूमिमा हिँडे।
20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन् मरियम र अरू स्त्रीहरू गाउन र नाँच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।
21 “परमप्रभुप्रति गीत गाऊ!
उहाँले महान कार्य गर्नु भएको छ।
उहाँले घोडाहरू र सवारहरूलाई
समुद्रमा फ्याँकिदिनु भयो।”
इस्राएलीहरू मरुभूमितिर जान्छन्
22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। 23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)
24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”
25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।
त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। 26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”
27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।
परमेश्वरले मानिसहरूलाई उत्तर दिन्छन्
18 त्यसपछि येशूले चेलाहरूलाई सधैँ प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो, 2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्। 3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’ 4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन। 5 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’”
6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ। 7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। 8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
परमेश्वरसँग ठीक बस
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः 10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए। 11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन। 12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’ 14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
परमेश्वरको राज्यमा को पस्न पाउने छ?
(मत्ती 19:13-15; मर्कूस 10:13-16)
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। 16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो। 17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”
एकजना धनी मानसद्वारा येशूलाई एउटा प्रश्न
(मत्ती 19:16-30; मर्कूस 10:17-31)
18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ। 20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झूटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’(A)”
21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”
22 जब येशूले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछ्याऊ!” 23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ। 25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
कसले चाँहि उद्धार पाउँछ?
26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ 30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैँको लागी बस्ने मौका पाउनेछ।”
येशू आफ्नो मृत्यु बारे फेरि चर्चा गर्नुहुन्छ
(मत्ती 20:17-19; मर्कूस 10:32-34)
31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्। 32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। 33 तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” 34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
येशूद्वारा अन्धो मानिस निको
(मत्ती 20:29-34; मर्कूस 10:46-52)
35 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो। 36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
37 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।”
38 त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!”
39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, 41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ?”
त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
42 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
33 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन।
ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
2 म बोल्न तयार छु।
3 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु।
ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
4 परमेश्वरको आत्माले मलाई बनाउनु भयो।
मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
5 अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ।
तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
6 परमेश्वरको समक्ष तिमी र म बराबर छौं
परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
7 अय्यूब म देखि नडराऊ
म तिमीमाथि निष्ठूर हुने छैन।
8 “तर अय्यूब,
तिमीले भनेको मैले सुनें।
9 तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु,
मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।
11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो,
परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
12 “तर अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु।
किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ।
तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ,
यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ,
अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
16 तिनीहरू एकदमै भयभीत हुन्छन्
जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ,
अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ।
परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।
19 “दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर
अनि उसका हडडीहरू सधैँ रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
20 तब त्यस मानिसले खान सक्तैन्।
त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
21 उसको शरीर जीर्ण हुँदै जान्छ
अनि उ हाड र छाला मात्र हुन्छ।
22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ
अनि उसको जीवन सम्मुखिन हुन्छ।
23 परमेश्वसँग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ।
त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ
अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्।
उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ।
त्यो मानिस पहिले जस्तो तन्नेरी थियो त्यस्तै नै हुनेछ।
26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ।
त्यो मानिस आनन्दले चिच्याउने छ
अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ।
उसले भन्नेछ, ‘मैले पाप गरें, मैले असललाई खराब बनाएँ।
तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो।
अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’
29 “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
30 त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई,
ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग गर्न सकोस्।
31 “अय्यूब, मेरो कुरा होशियारीले सुन,
शान्त हौ र मलाई बोल्न देऊ।
32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन।
मलाई उत्तर देऊ,
किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ।
शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”
परमेश्वरका सेवकहरूको नयाँ करार
3 फेरि के हामी हाम्रै विषयमा गर्व गर्छौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ? 2 तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। 3 यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा[a] लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।
4 हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। 5 हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। 6 (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।
नयाँ वाचाले बढी महिमा ल्याउँछ
7 मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। 8 पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? 9 मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। 10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। 11 त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।
12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। 13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। 14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। 15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। 16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। 17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। 18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।
© 2004, 2010 Bible League International