Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 13

13 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”

मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन। आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक बर्ष यही महीनामा पालन गर्नुपर्छ।

“सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ। यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन। यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौं किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’

“यस पवित्र चाड़ले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो। 10 यसकारण प्रत्येक बर्ष यो दिनलाई ठीकसित सम्झना गर।

11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ, 12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ। 13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्‌याएर ल्याउनु पर्छ।

14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो। 15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’ 16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैँ सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महा-शक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”

मिश्रबाहिर यात्रा

17 फिरऊनले मानिसहरूलाई छोड्न लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बद्लन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।” 18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कँदा युद्धको पोशाकमा थिए।

यूसुफ घर जान्छन्

19 मोशाले यूसुफको अस्थिरहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसँग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिरहरूलाई मिश्रदेखि बाहिर लान नबिर्स।”

परमप्रभुले आफ्नो मानिसहरूको अगुवाइ गर्नुहुन्छ

20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरुभूमि नजिक थियो। 21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे। 22 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसँगै हुन्थ्यो।

लूका 16

असल सम्पत्तिन

16 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो। यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’

“त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’

“यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’

“त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।’

“पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। 10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। 11 यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ 12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?

13 “एकै समयमा एउटा नोकरले दुइजना मालिकको सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”

परमेश्वरको नियम परिवर्त्तन हुँदैन

(मत्ती 11:12-13)

14 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे। 15 येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाउँछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।

16 “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन् 17 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।

छुटानामा र पुनर्विवाह

18 “यदी कुनै मानसले आफ्नो पत्नीसँग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”

धनी मानिस र लाजरस

19 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। 20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। 21 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।

22 “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। 23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। 24 त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

25 “तर अब्राहमले भने, ‘हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। 26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’

27 “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। 28 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।

29 “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’

30 “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

31 “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’”

अय्यूब 31

31 “मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि
    व्याविचारको दृष्टीकोणले म कुनै तुरूणीलाई हेर्नेछैन।
परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाँहि हो?
    उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!
परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ,
    खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
मेरो चाल परमेश्वरले जान्नु हुन्छ
    मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।

“यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए
    र छली चालमा म फँसेको भए,
न्यायको तराजुमा परमेश्वरले मलाई तौलिउन्,
    उहाँले नै जान्नुहुनेछ कि म निर्दोष छु।
यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए,
    यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने
    अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
मैले रोपेको अन्न अर्कोले खाओस्,
    र मेरा बाली जरै समेत उखेलियोस्!

“यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने
    अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्,
    र अरू मानिसहरू उसित सुतोस्।
11 किनभने सम्भोग लाजलाग्ने कुरा हो,
    न्यायको सामुन्ने एउटा अपराध हो।
12 त्यो त नाश गर्ने आगो हुनेछ,
    मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।

13 “मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए,
    तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको भए,
14 परमेश्वरको अघाडी जाँदा म के गर्ने?
    उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो,
र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो।
    परमेश्वरले हामीहरूलाई आफ्नी आमाको गर्भमा नै रूप दिनुभएको हो।

16 “गरीबहरूलाई सहायता गर्न मैले इन्कार गरेको छैन,
    विधवाहरूलाई चाहिएको कुराहरू दिन मैले इन्कार गरेको छैन।
17 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।
18 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ,
    मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई वास्ता गरें।
19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा थिएनँ।
    अथवा पोशाक बिहीन एक गरीब मानिसलाई देखें,
20     मैले सधैँ तिनीहरूलाई लगाउने लुगाहरू दिएँ।
मैले आफ्नै भेंडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें
    अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
21 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा-जान्दै पनि
    मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
22 यदि मैले त्यस्तो कहिल्यै गरे भने
    तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
23 तर मैले त्यस्तो नराम्रो काम गरिनँ।
    म परमेश्वरको दण्डदेखि त्रासित छु।
    उहाँको महिमाले मलाई भयभीत पार्छ।

24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिनँ।
    मैले धनलाई कहिल्यै पनि भनिनँ कि तिमी मेरो आशा हौ।”
25 म धनी थिएँ,
    तर धनले मेरो घमण्ड बढाएन।
मैले प्रशस्त धन कमाएँ,
    तर त्यसले मलाई सुखी बनाएन।
26 मैले कहिल्यै पनि उज्वल घाम
    र सुन्दर जूनलाई पूजिनँ।
27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन
    अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ।
    यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।

29 “जब मेरो शत्रुहरू नष्ट भए
    म कहिले खुशी भइनँ।
शत्रुहरूमाथि नराम्रो आई लाग्दा
    मैले तिनीहरूलाई खिसी गरिनँ।
30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ।
    अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
31 मेरा घरका सबै मानिसहरू जान्दछन कि
    मैले परदेशीहरूलाई सधैँ भोजन खुवाएँ।
32 परदेशीहरू गल्लीमा सुत्न नपरोस् भनी
    मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन्
    तर मैले मेरो दोष कहिल्यै लुकाइनँ।
34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ।
त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन।
    मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ।
    मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।

35 “अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु।
    मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्।
म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्।
    म इच्छा गर्छु कि मैले जे कु-कर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
36 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु
    म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला।
    म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

38 “मैले कसैबाट जमीन चोरिनँ
    कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
39 मैले सधैँ किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें
    अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहुँ र जौं उम्रिनुको सट्टामा
    काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”

अय्यूबको प्रवचन समाप्त भयो।

2 कोरिन्थी 1

ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ। जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो। ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं। यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ। तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं। हामीले साँच्चै सोच्यौं की हामी निश्चय मर्ने छौं, यो यस्तो भयो की हामीले आफूमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट ब्यूँताउँनु हुन्छ। 10 परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यैं ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ। 11 अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।

पावलको योजनामा परिवर्तन

12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। 13 हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौ। 14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।

15 म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ। 16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कंदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदिया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ। 17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। 19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो। 20 परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। 21 अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। 22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

23 म तिमीहरूलाई यो भन्छु अनि यो साँच्चो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुःखाउनु चाहन्नथें। 24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International