Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 41

फिरऊनको सपना

41 दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो। सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए। त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए। आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।

फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए। अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए। ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो। र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

नोकरले यूसुफको विषयमा फिरऊनलाई भन्छ

तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु। 10 तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो। 11 त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो। 12 हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। 13 उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे-जे भनेको थियो सत्य भयो।”

यूसुफलाई सपना व्याख्या गर्न बोलाइयो

14 यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्‌यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो। 15 फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

16 यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।”

17 त्यसपछि फिरऊनले यूसुफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा अभिरहेको थिएँ। 18 त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए। 19 तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए। 20 त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए। 21 तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म ब्यूँझें।

22 “मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए। 23 अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए। 24 त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए।

“मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”

यूसुफले सपनाको विषयमा व्याख्या गर्छ

25 तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ। 26 दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात बर्षहरू हुन्। 27 ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात बर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात बर्ष राम्रो सात बर्षपछि आउँछ। 28 यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ? 29 मिश्र देशमा सात बर्ष प्रचूर अन्न हुने छ। 30 तर त्यसपछि फेरि सात बर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ। 31 त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।

32 “हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ। 33 यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्। 34 तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात बर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्। 35 तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल बर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ। 36 त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात बर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

37 फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। 38 त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”

39 यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। 40 तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

41 तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” 42 अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। 43 जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

44 राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।” 45 त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

46 मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस बर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे। 47 सहकालको सात बर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो। 48 अनि तिनले ती बर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए। 49 समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।

50 यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। 51 यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” 52 तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”

अनिकालको समय शुरू हुन्छ

53 सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। 54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। 55 जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”

56 प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। 57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।

मर्कूस 11

येशूको यरूशलेममा राजा झैं प्रवेश

(मत्ती 21:1-11; लूका 19:28-40; यूहन्ना 12:12-19)

11 येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो। येशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई साङ्गलोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ। यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, ‘स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।’”

चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले। त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?” चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।

त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो। अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए। केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँड्दै थिए। सबै मानिसहरू कराउँदै थिए,

“‘उहाँको प्रशंसा गर!’
    ‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’(A)

10 “हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्।
    जुन राज्य आउनेछ।
स्वर्गको परमेश्वरलाई प्रशंसा!”

11 येशू यरूशलेममा जानुभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।

येशूले भन्नुभयो अन्जीरको रूख मर्नेछ

(मत्ती 21:18-19)

12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो। 13 येशूले टाढामा एउटा अन्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अन्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अन्जीरको फल फल्ने समय थिएन। 14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; लूका 19:45-48; यूहन्ना 2:13-22)

15 उहाँहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो। 16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन। 17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”

18 मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसँग डराएका थिए। 19 त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोड्नुभयो।

येशूद्वारा विश्वासको शक्ति प्रदर्शन

(मत्ती 21:20-22)

20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। 21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख। 23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। 24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। 25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।” 26 [a]

यहूदी प्रमुखहरूद्वारा येशूको शक्तिमाथि सन्देह

(मत्ती 21:23-27; लूका 20:1-8)

27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए। 28 तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसँग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”

29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ। 30 यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?”

31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो,’ येशूले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 32 तर यदि हामीले भन्यौ, ‘यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसँग भयभीत थिए। सबैले यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो।)

33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”

तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”

अय्यूब 7

अय्यूबले भने,

“मानिसले पृथ्वीमा कठोर सङ्घर्ष गर्छ।
    उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।
मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ।
    मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।
त्यसरी नै मैले महिनौंसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ
    अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
जब म सुतें, मैले सोचें,
    ‘कतिन्जेल मैले सोच्ने, जबसम्म म उठ्दिनँ?’
तर रात लामो छ।
    अनि घाम नझुल्कुन्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।
मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ।
    मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

“मेरो दिनहरू जुलाहा तानको धागो झैं चाँढो-चाँढो वितिरहेको छ
    अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो।
    म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन,
    तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
बादल विलिन भएर गए जस्तै मानिस मर्छ
    अनि चिहानभित्र गाडिन्छ अनि ऊ फेरि फर्की आउँदैन।
10 ऊ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन
    उसको घरले फेरि उसलाई चिन्ने छैन।

11 “यसैले म चुपचाप रहने छैन।
    म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ।
    म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
12 के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ?
    परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
13 मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ,
    मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
14 तर परमेश्वर जब म ढल्किन्छु
    सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
15 यसर्थ म यसरी बाँचिरहनु भन्दा
    गला अँठ्‌याएर मर्न चाहन्छु।
16 म आफ्नो जीवनलाई घृणा गर्छु।
    म चीरकालसम्म बाँच्न चाहन्न।
मलाई एक्लै छाडी दिनुहोस्
    मेरो जीवनको अर्थ नै छैन।
17 परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ?
    किन तपाईंले उसको सम्मान गर्नुपर्छ?
    किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
18 किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ?
    अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
19 परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न।
    तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।
20 परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ।
    यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्नु पर्छ?
किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो?
    के म तपाईंको निम्ति एक समस्या भएको थिएँर?
21 किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन?
    किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन?
    चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु।
तब तपाईंले मलाई खोज्नु हुनेछ
    तर म गइसकेको हुनेछु।”

रोमी 11

आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन

11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”(A) तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”(B)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। जस्तो धर्मशास्त्रमा लेखिएको छ,

“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”(C)

“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्,
    उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्।
अझसम्म त्यही भइरहेछ।”(D)

अनि दाउद भन्छन्,

“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
    तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्।
    अनि ती सदा कष्टमा परिरहुन्।”(E)

11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। 12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु। 14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। 15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। 18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ। 19 तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” 20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन। 21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। 23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए 24 एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। 26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः

“उद्धारक सियोनबाट आउनु हुनेछ;
    उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।
27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु
    जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”(F)

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। 29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। 30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। 31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। 32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

परमेश्वरको प्रशंसा गर

33 हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। 34 जस्तो धर्मशास्त्रमा लेखिएको छः

“परमप्रभुको मन कसले जान्दछ?
    उहाँलाई सल्लाह कसले दिनसक्छ?”(G)

35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ?
    ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”(H)

36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International