Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 51-53

इस्राएल अब्राहाम जस्तो हुनु पर्दछ

51 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ। अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”

यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दु:ख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरुभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरुभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।

“मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन।
    मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु।
    म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु
सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्।
    तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
माथि आकाशमा हेर!
    तल पृथ्वी वरिपरि हेर!
आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ।
    पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ।
पृथ्वीमा भएका मानिसहरू मर्नेछन्
    तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ।
    मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ।
    तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ।
दुष्ट मानिसहरूबाट नडराऊ।
    तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्।
माऊ कीराहरूले तिनीहरूलाई खानेछन्।
    तिनीहरू ऊन जस्तो हुन् कीराहरूले तिनीहरूलाई खानेछन
तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ।
    मेरो उद्धार सदा-सर्वदा लगातार चलिरहनेछ।”

परमेश्वरको शक्तिले आफ्ना मानिसहरूलाई बचाउँनेछ

जाग! जाग!
    हे परमप्रभुको बाहु, बलवान बन्।
आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ।
    जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ।
तिमीहरूसँग राहाबलाई पराजित गरेको त्यो शक्ति छ।
    तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ।
तिमीहरूले अति गहिरोबाट पानी सुकायौ।
    तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ।
    तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ।
    तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्।
तिनीहरू अत्यन्त खुशी हुनेछन्।
    तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ।
तिनीहरूले खुशीसँग गाउनेछन्
    सबै दु:खद अवस्थाहरू टाढा हटेर जानेछ।

12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने।
    यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ?
    तिनीहरू मानिसहरू मात्र हुन् जो घाँस जस्तै मर्दछन्।”

13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो।
    उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो।
    अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो।
तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ।
    यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ,
    जसले तिमीहरूलाई चोट पुर्याउँछ।
ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए
    तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।

14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्।
    ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सड्ने छैनन्।
    ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।

15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ।
    म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।”
(सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)

16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।’”

परमेश्वरले इस्राएललाई दण्ड दिनुभयो

17 जाग जाग!
    यरूशलेम, उठ!
परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो।
    यसैकारण तिमीहरू दण्डित भयौ।
यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो,
    अनि तिमीहरूले यसलाई पियौ।

18 यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्। 19 कष्टहरू दुइ वर्गमा यरूशलेममा देखापरे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।

तिमीहरू दु:खमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्। 20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।

21 मलाई ध्यान देऊ, दु:खी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।

22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ। 23 म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंड्नेछन्। तिमीहरू तिनीहरू हिंड्ने एक बाटो जस्तो हुनेछौ।”

इस्राएल सुरक्षित हुनेछ

52 जाग! जाग! हे सियोन! आफैं वस्त्र लगाऊ!
    आफ्नो शक्ति धारण गर र पवित्र यरूशेलेममा उभ!
मानिसहरू जो परमेश्वरको बाटोमा हिँड्न तयार भएनन
    तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्।
    ती मानिसहरू शुद्ध र सफा छैनन्।
धूलो टक्टकाऊ, आफ्ना आश्चर्य पोषाकहरू लगाऊ!
    यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ,
तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ,
    जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।
परमप्रभु भन्नुहुन्छ,
    “तिमीहरू पैसाकोलागि बेचिएनौ।
    यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”

परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए। अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैँ नराम्रा कुराहरू गर्दछन्।”

परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”

एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”

शहरका पहरादारहरू चिच्याउन थाले।
    तिनीहरू सबै एकार्कामा आनन्दित छन्।
किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्।

यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ।
तिमीहरू सबै पुन आनन्दित हुनेछौ।
    किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ।
    परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।
10 परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ।
    टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले,
    कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ।
    पूजाहरीहरू, त्यो ठाउँ छोड।
तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्,
    यसैले आफूलाई शुद्ध पार।
    कुनै पनि अपबित्र चीजहरू नछोऊ।
12 तिमीहरू कैदबाट मुक्त हुनेछौ,
तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्।
    तिमीहरू बलपूर्वक खेदिनेछैनौ।
    तिमीहरू हिँड्नेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ।
परमप्रभु तिमीहरूका अघि-अघि जानुहुनेछ।
    अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।

परमेश्वरको सेवक तड्पी रहेछ

13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। 14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। 15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

53 हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ।

उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन। मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। ऊ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।

10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ। 11 मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ।

परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। 12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

एफिसी 5

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः

“जाग, हे निदाएकाहरू हो!
    मृत्युबाट उठ,
अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

पति र पत्नीहरू

21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।

22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।

25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।

28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”(A) 32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।

भजनसंग्रह 69:19-36

19 मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ,
    तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो।
20 गालीले मलाई धूलो-पिठो पारेको छ।
    म गालीको कारणले मर्न लागेको छु
म संवेदना पर्खिएको छु,
    तर कसैबाट पाउन सकिन।
म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें,
    तर कोही पनि आएन।
21 तिनीहरूले मलाई खानलाई विष दिए।
    तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्।
22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।
तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्।
    मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ।
23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्।
24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव
    तिनीहरूले पनि गरून्।
25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।
    कोही पनि त्यहाँ बस्न नपाओस्।
26 तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।
    त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।
27 तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्।
    तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्।
28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,
    तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।
29 म दुःखीत र पीडित छु।
    परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।
30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।
    म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
31 यसले परमेश्वरलाई खुशी पार्नेछ!
    यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।
32 नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्।
    यी कुरा जानेर तिनीहरू खुशी हुने छन्।
33 किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ।
    कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्।
    समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।
35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।
    परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ
ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्।
36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,
    मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।

हितोपदेश 24:7

—22—

मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International