Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 25:1-28:13

परमेश्वरप्रति स्तुति-गान

25 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
    धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्।
    त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
तपाईंले शहर नष्ट पार्नु भयो।
    यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
    विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।
शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
    दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए,
    तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति,
    तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।
    पानी पर्खालको विरोधमा प्रचण्ड बढछ।
    तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्।
शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
    तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।
गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ।
    त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ,
    भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।

उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज

त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।

तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

त्यसबेला, मानिसहरूले भन्नेछन्,
    “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
    उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
    यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
    हामी आनन्दित र खुशी हुनेछौं।”
10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ।
    अनि मोआब परास्त हुनेछ।
परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ।
    यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ
    जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ।
तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ।
    अनि ती चीजहरू फालि दिनुहुनेछ।
12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू
अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ।
    परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।

परमेश्वरप्रति स्तुति-गान

26 त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन:

परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ।
    हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।
प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्।
    ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।

परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो
    जो तपाईंमाथि आश्रित छन्
    जसले तपाईंलाई विश्वास गर्दछन्।

यसकारण, सधैँ परमप्रभुमा भरोसा राख।
    परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ।
    अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ।
परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ
    यो धुलोमा खस्ने छ।
तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्।
असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो।
    भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउँछन् जुन सीधा र साँच्चो हुन्छ
अनि तपाईंले बाटो सजिलो पार्नु भयो,
    जसले गर्दा तिनीहरू आरामसित हिँड्न सकुन्।
तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं।
    हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ।
    अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ।
जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ,
    मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
10 यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने
    दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्।
उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्।
    त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ,
    तर तिनीहरू यसलाई देख्दैनन्।
तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्।
    निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्।
    निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ,
    किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।

परमेश्वरले आफ्ना प्रजाहरूलाई नयाँ जीवन दिनुभयो

13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ।
    तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं।
हामी अन्य मालिकहरूका अधीनमा भयौं।
    तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
14 ती मृत देवताहरू जीवत हुनेछैनन्।
    ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्।
तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ।
    जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो।
    तपाईंले उसको साँध बढाउनु भयो।
    हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन्
    तिनीहरूले तपाईंलाई याद गर्दछन्।
जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ।
    मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
17 हे परमप्रभु, जब हामी तपाईंसँग थिएनौं,
    हामी प्रसुती वेदनामा रूने स्त्री जस्तै थियौं।
18 हामीलाई प्रचण्ड वेदना थियो।
    तर हामीले हावा मात्र जन्मायौं।
हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं।
    हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
19 तर परमप्रभु भन्नुहुन्छ,
“तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्,
    तर तिनीहरू फेरि बाँच्नेछन्।
मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्।
    मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्!
    शीतले तपाईंलाई यस प्रकार छोप्नेछ
जसरी नयाँ विहानको शीतमा,
    प्रकाशका चमक हुन्छ।
नयाँ समय आएको संकेत दिन्छ
    जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”

न्याय, पुरस्कार अथवा दण्ड

20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ।
    ढोकाहरू बन्द गर।
केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक।
    परमेश्वरको क्रोध शान्त नभइन्जेल सम्म लुक।
21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई,
    परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ।
पृथ्वीमा जो-जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ।
    पृथ्वीले धेरै बेरसम्म मृत मानिसहरू छिपाउने छैन।

27 त्यस समयमा परमप्रभुले लिब्यातानको न्याए गर्नु हुनेछ।
    लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ।
    उहाँले आफ्नो शक्तिशाली तरवारद्वारा, सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
    परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।

त्यसबेला, मानिसहरूले,
    आनन्दित दाखको बोटको गीत गाउनेछन्।
“म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु।
    म ठीक समयमा त्यसमा पानी लगाउनेछु
म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु,
    कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।
म रिसाएको होइन्।
तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि,
    म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।
तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने
    र मबाट शान्ति चाहन्छ भने,
    तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।
त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ।
    तब मिश्र बढ़न र फूल्न लागेको बोट जस्तै हुनेछ।
    त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”

परमेश्वरले इस्राएललाई टाढा पठाउनु हुनेछ

परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?

परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरुभूमिनको तातो हावाले जस्तै पोल्नेछ।

याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

10 त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरुभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्। 11 दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।

मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

12 त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।

तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ। 13 मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।

उत्तरी इस्राएललाई चेतावनी

28 सामरियालाई हेर!
    एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्।
त्यो शहर वरिपरि भन्ज्याङ भएको पहाडमा अवस्थित छ।
    सामरियाका मानिसहरूले त्यो शहरलाई फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्।
तर तिनीहरू दाखरस पिएर मस्त छन्।
    अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।

हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ।
    त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ।
ऊ तूफान जस्तो भएर यो देशभित्र आउने छ।
ऊ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ।
    उसले मुकुट भूईंमा फालि दिनेछ।
एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्।
    तर शहर कुल्चिमिल्चि पारिनेछ।
त्यो शहर पहाडमा अवस्थित छ।
सुन्दर घाँटीहरूले यसलाई घेरेको छ।
    अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलाउँदै गएको बोट जस्तै हो।
यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ।
    जब एकजना मानिसले नेभार देख्छ,
    उसले त्यसलाई टिप्छ अनि खान्छ।

त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाईँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ। अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्। जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।

परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न चाहनु हुन्छ

“परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्। 10 परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”[a]

11 परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।

12 अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, “यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।”

तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्। 13 यसर्थ परमेश्वरद्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”

तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।

गलाती 3:10-22

10 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”(A) 11 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”(B)

12 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”[a] 13 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।”(C) 14 परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।

व्यवस्था र वचन

15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। 16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ। 17 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।

18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।

19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। 20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।

मोशाको व्यवस्थाको उद्देश्य

21 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं। 22 तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।

भजनसंग्रह 61

प्रमुख संगीतकारलाई: तार बाद्यसँग गाउँने दाऊदको भजन।

हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
    मेरो प्रार्थना सुनी दिनुहोस्।
म जहाँ भए तापनि,
    जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु!
    मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
    तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु।
    म तपाईंको शरणमा लुक्न चाहन्छु।

हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
    तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
राजालाई दीर्घायु दिनुहोस्।
    ऊ अनन्त सम्म बाँचोस्।
उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
    तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
अनि म तपाईंको नाउँको गुणगान सधैँभरी गर्नेछु।
    प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।

हितोपदेश 23:17-18

—14—

17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर। 18 तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International