Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 3-5

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ। परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ। परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ।

परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु। प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”

त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसँग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”

तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसँग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”

यस्तो घट्ना हुनेछ किनभने यरूशलेमले ठक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई पछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरूद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।

मानिसहरूका अनुहारहरूले बताउँछन् कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अहंकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैंले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउनेछन्। 11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्। 12 युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्।

मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।

आफ्ना मानिसहरूप्रति परमेश्वरको निर्णय

13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ। 14 परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ। 15 मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

16 परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौं अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”

17 मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै-लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्। 18 त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ। 19 कुण्डलहरू, चुराहरू, घुम्टोहरू, 20 दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अत्तरका बोतलहरू अनि जन्तरहरू, 21 छाप औंठीहरू र नाकका मुन्द्री, कानका मुन्द्री, गलाका हरहरू, 22 दामी पोषाकहरू, टोपीहरू, शलहरू र थैलीहरू, 23 ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।

24 ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउँदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसँग आकर्षक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।

25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्। 26 त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौं। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौं। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौं यदि तिमी हामीहरूसँग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्। त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ।

परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखाली[a] दिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ। तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।

इस्राएल, परमेश्वरको दाख बारी हो

अब म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।

मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।
मेरा मित्रले खेत खने अनि सफा पारे।
    उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे।
उनले खेतको माझमा एउटा मचान
    अनि एउटा कोल निर्माण गरे।
तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे।
    तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।

यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू,
    म अनि मेरो दाखबारीको विषयमा सोच।
मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र?
    मैले सबै कुरा गरे।
मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ
    तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो
    किन त्यस्तो भयो?

“अब म तिमीहरूलाई भन्नेछु,
    म मेरो अङ्गुरको बगैंचालाई के गर्नेछु।
म सबै बारहरू उखेल्नेछु।
    अनि तिनीहरूलाई जलाउनेछु।
म ढुङ्गाका पर्खालहरू भत्काउने छु
    अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु।
    कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन।
    कसैले पनि खेतमा काम गर्ने छैन्।
त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्।
    म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यो यहूदाको मानिस हो।

परमप्रभुले न्यायको आशा गर्नुभयो,
    तर त्यहाँ हत्याहरू मात्र भए।
परमप्रभुले धार्मिकताको आशा गर्नुभयो,
    तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।

तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ। सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्। 10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”

11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ। 12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैंजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अ-शुभ हुनेछ।

13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्। 14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”

15 ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्। 16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्। 17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेंडा़हरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए।

18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्। 19 ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चाँडै नै गरून्। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चाँडै नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”

20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो। 21 तिनीहरू हामी चतुर छौं भनी सम्झन्छन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्। 22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्। 23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्। 24 तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।

ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे। 25 यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।

इस्राएलका मानिसहरू परमप्रभुबाट दण्डित

26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ।

शत्रुहरू टाढा-टाढाबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिटो-छिटो हिँडिरहेका छन्। 27 तिनीहरू कहिल्यै थाक्दैनन् अनि नष्ट हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न त सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन। 28 शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरू हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उड्नेछन्।

29 शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लड्ने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न सङ्घर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्। 30 यसकारण, सिंह समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।

2 कोरिन्थी 11:1-15

पावल र झूटा प्रेरितहरू

11 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।

तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्। साँच्चो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।

सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र? मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ। जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइनँ। अनि कहिल्यै भार बन्ने छैन पनि। 10 यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु। 11 अनि किन म भार थिइनँ? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।

12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्। 13 तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। 14 त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। 15 यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।

भजनसंग्रह 53

प्रमुख संगीतकारलाई: “महलथ” भन्ने रागमा दाऊदको “मस्किल” नामको भजन।

केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
    त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,
    अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
    परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ,
    जसले परमेश्वरलाई नै खोजिरहेछन्।
तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
    प्रत्येक मानिस कपटी छन्।
कसैले पनि राम्रो काम गर्दैन।
    एकजना पनि राम्रो काम गर्ने मानिस छैन!

परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
    तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।
    दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
    त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ।
    यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि
    इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।
    याकूब प्रफुल्लित हुनेछ।
    इस्राएल आनन्दले ओतप्रोत हुनेछ।

हितोपदेश 22:28-29

—4—

28 तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।

—5—

29 यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International