Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उपदेशक 10-12

10 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।

मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।

हरेक काम जोखिमपूर्ण हुन्छ

आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।

10 तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।

11 लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।

12 ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्,
    परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।

13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ। 14 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा के हुनेवाला छ।

15 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ,
    यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।

कामको मूल्य

16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ। 17 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।

18 यदि कोही कामगर्न अति अल्छी छ भनें,
    उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।

19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।

निन्दा

20 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किनकि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।

निर्धक्क बनी भविष्यको सामना गर

11 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा[a] ल्याउँछ।

जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ।

कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा बर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि वा दक्षिण पट्टि, जता ढले पनि त्यहीं तेर्सिरहन्छ।

तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।

तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।[b]

यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।

उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउनको लागि असल हो। तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।

उमेर छँदै परमेश्वरको सेवा गर

यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्। 10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।

बुढेसकालको समस्या

12 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।

सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।

त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ। तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।

डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिँड्दा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाँच्ने इच्छा[c] पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।

मृत्यु

चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि,
    माटोको गाग्री इनारमा फुट्नु अघि,
अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै,
    जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।
तिम्रो शरीर माटोबाट बनिएको हो।
    मरेपछि पनि माटोमै फर्कन्छ।
तर आत्मा जुन परमेश्वरबाट आयो
    मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।

निर्ष्कष

उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे। 10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।

11 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्। 12 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।

13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।

2 कोरिन्थी 8:1-15

ख्रीष्टिय दान

अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ। यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे। तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।

मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।

10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। 11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ। 12 तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन। 13 जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं। 14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। 15 धर्मशास्त्रमा यस्तै लेखिएको छः

“जसले धेरै बटुल्यो उसको धेरै रहेन,
    जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”(A)

भजनसंग्रह 49

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
    पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
    प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
    मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
मैले स्वयंले ती कथाहरू सुनें
    अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।

कष्ट आउँछ भनेर म किन डराउनु?
    यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
    तर ती मानिसहरू मूर्खहरू हुन्।
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
    अनि तिमीले परमेश्वरलाई घूस[a] दिन सक्तैनौ।
कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
    जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
    अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी[b] मर्छन्।
    तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
    तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
    तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ
    जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।
    चिहान नै तिनीहरूको खोर हो।
मृत्यु तिनीहरूको गोठाला हुनेछन।
    त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।
    जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,
    उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।
    तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17 ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्।
    तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।
    अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,
    अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20 मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्
    तिनीहरू पशुहरू जस्तै मर्ने छन्।

हितोपदेश 22:20-21

20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्। 21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International