Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उपदेशक 1-3

यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।

उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ[a] अर्थात् सब कुरा व्यार्थै छ। यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

चीजहरू साँच्चै नै परिवर्तन हुदैन

एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ। सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिदैन।

शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन।[b] मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्।[c] शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।

नयाँ भन्ने कुरा केही छैन

शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

11 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।

के बुद्धिबाट आनन्द पाइन्छ?

12 म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ। 13 मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ। 14 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।[d] 15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।

16 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?”

17 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु। 18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।

के “हाँस-खेलबाट” साँच्चो आनन्द पाइन्छ?

मैले आफैंले विचार गरें, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थै रहेछ। हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।

तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किनकि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजुन्।

कठोर परिश्रमबाट आनन्द पाइन्छ?

अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ। मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें। मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ। मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई, गोरू, भेंडा़ र बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। मसित थुप्रै नाँच्ने-गाउँने स्त्री-पुरूषहरू थिए।

म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैँ मेरो सहायता गर्ने गर्दथ्यो। 10 मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।

11 मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

यसको उत्तर बुद्धि हुनसक्छ

12 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ। 13 मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो। 14 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अँध्यारोमा हिँड्ने मानिस जस्तै हो।

तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्। 15 मैले आफ्नो मनमा सोचें, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैंलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।” 16 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैँ न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

के जीवनमा साँच्चो आनन्द होला?

17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

18 मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन। 19 जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। 21 एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुःख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।

22 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ? 23 सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्। 26 यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।

एउटा समय हुन्छ

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

जन्म लिने एउटा निश्चित समय छ,
    र मृत्युको पनि।
रूख रोप्ने एउटा समय हुन्छ,
    अनि त्यसलाई उखेल्ने एउटा समय छ।
त्यहाँ मार्ने एउटा समय छ,
    निको पार्ने एउटा समय छ,
भत्काउने एउटा समय छ,
    बनाउने एउटा समय।
कराउने र रूने एउटा समय हुन्छ,
    अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ।
शोक मनाउने एउटा समय छ,
    र नाच्ने र गाउने एउटा समय हुन्छ।
एक समय हुन्छ ढुङ्गा फ्याँक्ने,
    एक समय हुन्छ ढुङ्गा थुपार्ने।
कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ,
    त्यसै छोडिदिने एउटा समय हुन्छ।
कुनै चीज खोज्ने एक समय हुन्छ,
    हराओस् भन्ने एकसमय हुन्छ,
कतै फालि दिने एक समय हुन्छ,
    र राख्ने एक समय हुन्छ।
त्यहाँ लुगा च्यात्ने एउटा समय छ,
    र लुगा सिलाउने एउटा समय।
त्यहाँ चुपचाप रहने एउटा समय छ,
    बोल्ने एउटा समय छ।
एक समय हुन्छ माया गर्ने,
    एक समय हुन्छ घृणा गर्ने,
एक समय हुन्छ झगडा़ गर्ने
    र एक समय हुन्छ मेल-मिलाप गर्ने।

परमेश्वर आफ्नो संसारलाई नियन्त्रण गर्नुहुन्छ

के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? 10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। 11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

12 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो। 13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।

14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। 15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

16 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ। 17 यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”

के मानिसहरू पशु जस्ता नै छन्?

18 मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्। 19 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किनकि हरेक कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्। 20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्। 21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”

22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसले अर्कालाई भविष्यमा के हुनेवाला छ सो देखाउँन सक्तैन।

2 कोरिन्थी 6:1-13

परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। परमेश्वर भन्नु हुन्छः

“ठीक समयमा मैले तिमीलाई सुनें,
    अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”(A)

तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।

मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं। हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।

कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। 10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं। 12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ। 13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।

भजनसंग्रह 46

प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
    सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
यसैकारण भुइँचालो आए ता पनि
    पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
    र पर्वतहरू थर्किन्छन्।

त्यहाँ एउटा नदी छ जसको धाराले
    सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
    घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
    प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
    उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
    तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।

10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
    म जाति-जातिलाई परास्त गर्नु सक्छु,
    म संसारलाई अधीनमा राख्न सक्छु!”

11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

हितोपदेश 22:15

15 नानीहरूको मनमा मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई उबाट भगाइन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International