Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 1-2

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

आफ्ना मानिसहरू विरूद्ध परमेश्वरको मुद्दा

हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ:

“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें,
मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ
    तर तिनीहरू नै मेरो विरोधी भए।
गोरूले आफ्नो मालिकलाई चिन्छ,
    अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड[a] कहाँ छ जान्दछ।
तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्।
    मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।

परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ। तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।”

तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा नष्ट पारिएको एउटा देश जस्तो छ।

सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएकी एक पुरानो छाप्रो जस्तो छे। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छे। यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा नष्ट भएका छैनौं।

10 हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन! 11 परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेंडा़को बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिँदिनँ। 12 जब तिमीहरू मसँग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चँदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?

13 “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। 14 मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।

15 “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।

16 “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! 17 राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

18 परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।

19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ। 20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

परमप्रभुप्रति यरूशलेम निष्ठावान छैन

21 परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुशरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।

22 “तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ। 23 तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”

24 ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ, 25 चाँदी टल्काउनलाई मानिसहरूले खरानी[b] प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु। 26 न्यायकर्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसँग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”

27 सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ। 28 तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)

29 भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू[c] र विशेष बगैंचाहरू[d] पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्। 30 यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो। 31 शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।

आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।

अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर,
    सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ।
यो सबै पहाडहरू भन्दा-माथि हुनेछ।
    सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
धेरै मानिसहरू त्यहाँ जानेछन् र तिनीहरूले भन्नेछन्,
    “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ,
    माथि याकूबको परमेश्वरको मन्दिरमा।
अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ।
    अनि हामीले उहाँलाई पछ्याउनेछौं।”

परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ
    र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।
त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ।
    उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ।
ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नेछन्।
    तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्।
    अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्।
मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्।
    मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।

याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ।

म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्‌यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्। अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्। तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्। मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?

10 जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!

11 घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफैं आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

12 परमप्रभुसँग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्। 13 ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। 14 ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्। 15 ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ। 16 ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।

17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ। 18 सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्। 19 मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महा-महिमामय शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।

20 त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन् भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्। 21 त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।

22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन् जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

2 कोरिन्थी 10

पावल आफ्नो सेवकाइको प्रतिक्षा गर्छन्

10 म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिन्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु। फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला। हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं। अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ। तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ।

तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले सम्झनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं। त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन। यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन। 10 कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” 11 यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।

12 हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ।

13 तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ। 14 हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं। 15 हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ। 16 हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं। 17 तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”(A) 18 किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैंलाई असल मान्छ।

भजनसंग्रह 52

प्रमुख संगीतकारलाई: दाऊदको “मस्किल” भन्ने भजन। जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”।

हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
    तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
तिमीले सधैँ मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
    तिमीले सधैँ झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
    तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।

तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ।
    उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट[a] धकेल्दै तान्नु हुनेछ,
    जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
    परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
    “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
    उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”

तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
    म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
    म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!

हितोपदेश 22:26-27

—3—

26 कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्। 27 तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढ्ने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International