Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 22-24

यरूशलेमलाई परमेश्वरको सन्देश

    22 दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश:

हे यरूशलेम तिमीलाई के भयो?
    किन तिनीहरू माथिको तलामा लुकिरहेछौ?
विगतमा, यो शहर अत्यन्त खुशी थियो।
    यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो।
तर, अहिले स्थिति परिवर्तन भयो।
    तिमीहरूका मानिसहरू मारिए
तर तरवारहरूले होइन्।
    मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।
    तर तिनीहरू सबै नै पक्राउ परे।
अनि तिनीहरूसित धनुष थिएनन्।
    सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे।

यसकारण म भन्छु, “मलाई नहेर!
    मलाई चिच्याउन देऊ!
यरूशलेम नष्ट भई सकेपछि
    मलाई सान्त्वना दिन अघि नबढ।”

परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

9-11 दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।

तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। 12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

13 तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,

“गाईहरू अनि भेंडा़हरू मार,
    आऊ अनि खुशी मनाउँ,
खाऊ अनि पिऊ,
    किनभने भोलि हामी मर्नेछौं।”

14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

शेब्नालाई परमेश्वरको सन्देश

15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। 16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।

17-18 “हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”

परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। 19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ। 20 त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो। 21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। 23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। 24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।

25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।

सोरलाई परमेश्वरको सन्देश

23 सोरको विषयमा शोक सन्देश:

जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो:
    “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ!
    तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ।”

हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ।
    त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो
    र ती मानिसहरू धनी भए।
ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे।
ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन्,
    जुन नील नदी छेउमा उब्जन्थ्यो,
    र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।

सीदोन, तिमी अत्यन्त दु:खीत हुनुपर्नेछ।
    किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,
“मेरा नानीहरू छैनन्।
    मसित प्रसव पीडाको अनुभव छैन।
मैले नानीहरूलाई जन्म दिएको छैन।
    मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।”

मिश्रले सोरको बारेमा खबर सुन्ने छ।
    यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ।
हे जहाजहरू! तर्शीशमा फर्क।
    हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।
अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ।
त्यो शहर शुरूदेखि नै बढिरहेकोछ।
    त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।
सोर शहरले धैरे अगुवाहरू जन्मायो।
    त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्।
मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो।
    यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?
उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ।
    उहाँले तिनीहरूलाई
    महत्व नदिने निर्णय गर्नु भयो।
10 हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ।
    सानो नदी सम्झेर समुद्र पार गर,
    अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
11 परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो
    अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई
राज्यहरू भेला गर्नुभयो।
    परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ नष्ट पार्नलाई आज्ञा गर्नुभयो।
12 परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ।
    तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।
तर सोरका मानिसहरू भन्दछन्, कित्तिमहरूले हामीलाई साथ दिनेछ!
    तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।”
13 यसैले सोरका मानिसहरू भन्दछन्।
    बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!
तर कल्दीहरूको देशलाई हेर! बाबेल देश अब देश रहेन।
    अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे।
सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए।
    अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो।
    तिनीहरूले बाबेललाई एउटा खण्डहर (भग्नावशेष) मा परिणत गरे।
14 यसैले, दु:खी बन, तर्शीशबाट आएका जहाजहरू,
    तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर नष्ट हुनेछ।

15 मानिसहरूले सत्तरी बर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी बर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।

16 “हे पुरूषहरूले छोडेका नारीहरू!
    आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिँड।
आफ्नो गीतका धुन उचित ढङ्गले बजाऊ। आफ्नो गीत गाऊ।
    तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।”

17 सत्तरी बर्षपछि, परमप्रभुले सोरको विषयमा पुनर्विचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ। 18 तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

परमेश्वरले इस्राएललाई दण्ड दिनु हुनेछ

24 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ। त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिक्नीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैंकबाट ऋण लिनेहरू पनि समान हुनेछन्। सारा मानिसहरूलाई त्यो ठाउँ छोड्नलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ। यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।

यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे। यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई नष्ट गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दु:खी छन्। मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

13 फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे
    तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए।
    त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
14 छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्।
तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ।
    तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
15 ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर!
    टाढा देशहरूमा बस्ने मानिसहरू,
    परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्।
    ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ।
तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु।
    म जे देख्छु, ती भयंकर चीजहरू हुन्।
देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन्
    अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”

17 यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु,
    म तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।
18 मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्।
    कतिपय मानिसहरू भाग्नेछन,
तर तिनीहरू खाडलहरूमा जाकिनेछन्।
    पासोहरूमा अल्झिने छन्।
ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन,
    तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।
स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन्
    अनि बाढीहरू प्रारम्भ हुनेछ।
    पृथ्वीको जगहरू हल्लन्छन्।
19 त्यहाँ भूकम्प आउँनेछ।
    अनि पृथ्वी फाट्नेछ।
20 संसारमा पापहरू एकदम गह्रौं भईसक्यो।
    यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ।
पृथ्वी पुरानो घर जस्तै थर्किनेछ।
    मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ।
    पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।

21 त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू,
    र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
22 धेरै मानिसहरू एक साथ भेला गराईनेछन्।
    ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्।
अनि केही कैद हुनेछन्।
    तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ।
    उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ।
उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि
    त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ,
    अनि घाम लज्जित हुनेछ।

गलाती 2:17-3:9

17 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गर्यौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन। 18 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें। 19 व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ। 20 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो। 21 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

परमेश्वरको आशिष विश्वासबाट आउदछ

हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ। मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।

अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”(A) यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”(B) अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

भजनसंग्रह 60

प्रमुख संगीतकारलाई: “करारको लिली” को रागमा दाऊदको “मिक्तम”[a] भन्ने भजन। यो त्यस बेलाको भजन हो जब दाऊद अराम नेहेर्याम र अराम जोबहसँग लडे अनि योआबले 12,000 सिपाहीहरूलाई नूनको उपत्यकामा परास्तगरि फर्केर आए।

हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थ्यो।
    तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो।
    दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ।
    तपाईंले त्यसलाई फटाउनुभएको छ।
    दया गरी यसलाई जोड्नु होस्।
तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ।
    हामी धर्मरिन्दै लड्दै हिंड्ने रक्स्याहा (जँड्‌याहा) मानिसहरू हौं।
जसले तपाईंको उपासना गर्छन् उसैलाई चेताउनी दिनुभयो।
    अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।

तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्।
    मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!

परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो,
    “यसकारण म धेरै नै खुशी छु।
म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु।
    म तिनीहरूलाई शेकेम दिनेछु,
    म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
गिलाद र मनश्शे मेरो हुनेछ,
    एप्रैम मेरो शिरस्त्राण[b] हुनेछ
    यहूदा मेरो राजदण्ड[c] हुनेछ।
मोआब मेरो खुट्टा धुने बाटा हुनेछ।
    एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ
    म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”

9-10 तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो!
    तपाईं हाम्रो सेनासँग जानु भएन।
यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला?
    कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
11 हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्।
    पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
12 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
    अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।

हितोपदेश 23:15-16

—13—

15 हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु। 16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International