Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उपदेशक 7-9

बुद्धि र शिक्षाको सूची

एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो।
    मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
भोजको घरमा जानु भन्दा मलामी जानु असल हो।
    किनकि सबै एक दिन मर्नै पर्छ,
    अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।

हाँसो भन्दा शोक र सुर्ता राम्रो हो,
    किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ।
ज्ञानीले सधैँ मृत्युबारे सोच्छ
    तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
मूर्खबाट प्रशंसा पाउनु भन्दा,
    ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
मूर्खहरूको हाँसो त बेकार हुन्छ,
    काँढाको आगो बालेर भाँडा तताए जस्तो हो।
काँढाको आगो छिट्टै बल्छ,
    तर भाँडा तात्दैन।
घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ,
    अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।
शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो।
    अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।
छिटै रीसाउने नगर,
    किनकि रीसाहा बन्नु मूर्खता हो।
10 नभन, “बितेका दिनहरूमा के भयो।
    तब चीजहरू अझ राम्रा थिए।”
    यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।

11 जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। 12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।

13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। 14 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।

मानिस साँच्चै असल हुँदैनन्

15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। 16-17 यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?

18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो। 19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

21 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ। 22 अनि तिमी जान्दछौ, तिमी आफैंले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।

23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो। 24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ। 25 साँच्चो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के?

मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो। 26 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।

27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें। उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँच्चो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।

29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।”

बुद्धि र शक्ति

ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।

म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ। आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन। राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।

त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ। उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।

कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।

मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा सङ्घर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।

10 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।

न्याय, पुरस्कार र दण्ड

11 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

12 एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो। 13 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाँयाँ झैं लामो हुँदैन।

14 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ। 15 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।

परमेश्वरका सबै काम हामी बुझ्न सक्दैनौं

16 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि। 17 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून् बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँच्चो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।

के मृत्यु असल हुन्छ?

मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।

तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, मृत्यु दुष्ट मानिसलाई पनि आउँछ, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि मृत्यु आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ।

यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि:

एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो।

जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ।

अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ। राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर। 10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

हामी के पो गर्न सक्छौं र? सौभाग्य या दुर्भाग्य?

11 यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैँ दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैँ जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैँ खान पाउँदैन, ज्ञानी मानिसले सधैँ सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैँ प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आउँछ।

12 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

विवेकको शक्ति

13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ। 14 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनाथ गरे। 15 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले। 16 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

17 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द,
    मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।
18 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो।
    तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।

2 कोरिन्थी 7:8-16

मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो। अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। 10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। 11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो। 12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो। 13 त्यसैकारण हामी सुखी थियौं।

हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए। 14 मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ। 15 अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ। 16 म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।

भजनसंग्रह 48

कोरह परिवारहरूको उपासनाको भजन।

परमप्रभु महान् हुनुहुन्छ।
    उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
    यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत[a] हो,
    यो महान् राजाको शहर हो।
त्यस शहरको राजमहलमा,
    परमेश्वरलाई किल्ला भनिन्छ।
एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
    तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
    तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!
डरले ती राजाहरूलाई कस्सेर समात्यो।
    ती राजाहरू डरले कामे।
हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
    अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
    तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!

हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
    मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
    तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
    यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
12 सियोनको चारैतर्फ हिंड्।
    शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
13 अग्ला पर्खालहरू हेर,
    सियोनका राजमलहरूको प्रशंसा गर।
    तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।
14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।
    उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।

हितोपदेश 22:17-19

तीस ज्ञानपूर्ण भनाईहरू

17 राम्रोसँग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें। 18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ। 19 अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International