Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 10-11

10 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्। ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।

कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन। तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।

परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु। म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिने मैला-हिलो भएको ठाउँ हुनेछ।

“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैन। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई नष्ट गर्ने योजना मात्र गर्दछ। अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्! कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्तो हो। सामरिया शहर दमीशक शहर जस्तो हो। 10 मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्। 11 मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?’”

12 मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अहङ्कारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

13 अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ। 14 मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेंटाहरू अथवा चूँ-चूँ गर्दै लडाईं गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”

15 मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।

16 सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुन्जेलसम्म आगो जस्तै बलि रहनेछ। 17 इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परम-पवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ। 18 तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ। 19 त्यहाँ बनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।

20 त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्। 21 याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।

22 तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश नष्ट हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ। 23 मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।

24 मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ। 25 तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”

26 त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले होरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।

27 अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।

अश्शूरका सैन्यहरूले इस्राएलमाथि धावा बोले

28 सेनाहरू अय्यात[a] नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्। 29 तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।

30 बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ! 31 मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्। 32 त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।

33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिंदै, ढालिंदै गए-तिनीहरू अब मुख्य रहेनन्। 34 परमप्रभुले आफ्ना बञ्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।

शान्तिको राजा आउँनुहुदैछ

11 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।

त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। 4-5 उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्नु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।

त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।

यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।

10 त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

11 त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। छाडिएका मानिसहरू परमेश्वरका हुन् ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा। 12 परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।

13 त्यसबेला, एप्रैमले यहूदासँग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाड्ने छैन। अनि यहूदा एप्रैमको लागि सङ्कटको कारण बनिने छैन। 14 तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछ।

15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुइ भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्। 16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।

2 कोरिन्थी 12:11-21

कोरिन्थिका ख्रीष्टयन प्रति पावलको प्रेम

11 म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। 12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। 13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।

14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। 15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?

16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। 17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। 18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं।

19 के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। 20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला 21 मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

भजनसंग्रह 56

प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।

हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
    तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
    त्यहाँ अनगन्ति लडाकुहरू छन्।
जब म भयग्रस्त हुन्छु,
    तब तपाईंमाथि भरोसा राख्दछु।
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
    उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
    तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
तिनीहरू सधैँ लुक्छन्
    अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
    मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
    तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
तपाईं जान्नुहुन्छ म कति डराएको छु।
    तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
    निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
    जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
    म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
    कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
    म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
    यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
    म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
    यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
    त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।

हितोपदेश 23:6-8

—8—

एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International