Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 15-18

मोआबलाई परमेश्वरको सन्देश

15 यो मोआब बारे एक दुःखको समाचार होः

एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे।
    एउटै रातमा, शहरलाई ध्वंश पारियो।
एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे।
    एउटै रातमा शहरलाई ध्वंश पारियो।
राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए।
    नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए।
    मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
मोआबका चारैतिर घरको दलानहरूमाथि
    र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर,
    रूँदै कराउँदै हिँडे।
हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन
    तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो।
यति सम्म कि सिपाहीहरू तर्सिए।
    सिपाहीहरू डरले थरथर कामिरहेछन्।

मेरो हृदय मोआबको निम्ति रून्छ।
    उसका मानिसहरू सुरक्षाका निम्ति भागे।
    तिनीहरू सोअर तर्फ भागे।
तिनीहरू एग्लत शलीशियाह तर्फ भागे।
    मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि,
रूदै चिच्याउँदै चढे।
    होरोनैमा उक्लिँदा तिनीहरू चिच्याउँदै गए।
तर निम्रीम खोला मरुभूमि जस्तो सुक्खा छ।
    घाँसहरू सुकिहाले,
सारा वनस्पति मरे,
    र हरियो भन्ने केही थिएन।
यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए।
    तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।

मोआबभरि रोएको सुन्न सकिन्छ।
    अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
दीमोनको पानी रगतले भरिएकोछ
    अनि म अझै दीमोनमा कष्ट ल्याउँछु।
मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे।
    तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।

16 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरुभूमिमा हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्।
    तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्।
    तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्!
    के गर्नु पर्ने हो बताउनु होस्!
मध्यदिनहको घामबाट हामीलाई ओझेल पारे जस्तै,
हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस्।
    हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं।
हामीलाई लुकाउनु होस्!
    शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
ती मोअबबाट आएका मानिसहरूलाई
    जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए।
    यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ।

तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ,
    लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ।
    मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।
त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्।
    उनी देशभक्त, मायालु र कृपालु हुनेछन्।
    यी राजाले निष्पक्ष न्याय गर्नेछन्।
उनले ती कुराहरू मात्र गर्नेछन्
    जुन राम्रो र सही हुन्।

हामीले सुनेका छौं कि
    मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्।
ती मानिसहरू हिंस्रक र ठूला कुराहरू गर्नेवालाहरू छन्।
    तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्।
    मोआबका सारा मानिसहरू रूनेछन्, मानिसहरू उदास हुनेछन्।
    विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्।
    तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले,
मानिसहरू उदास हुनेछन्।
    विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्।
शत्रुका सैनिकहरू याजेर शहर र मररुभूमिभरी फैलिए,
    अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।
“दाखका बोटहरू नष्ट भएकोले गर्दा
    म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ।
म हेशबोन र एलालेका मानिसहरूसँग रूनेछ
    किनभने त्यहाँ फसलहरू हुनेछैन्।
त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्।
    अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा,
खुशीको गीतहरू गाइने छैन्।
    बाली भित्राउने समयमा मोज-मज्जा समाप्त पार्नेछु।
अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्।
    तर ती सबै चीजहरू खेर जानेछन्।
11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु।
    कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु।
    म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।
12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन्
    तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्।
तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन्
    अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”

13 परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो। 14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन बर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”

अरामलाई परमेश्वरको सन्देश

17 दमीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दमीशकमा घट्नेछ भनेर भन्नु हुन्छः

“दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ।
    दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।
मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्।
    भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्,
    त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
एप्रैम शहरहरूको किल्ला नष्ट हुने छ, दमीशकको शासन अन्त हुनेछ।
    जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घट्ना अराममा हुनेछ।
अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”
    सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।

“त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ।
    याकूब बीमार मानिस जस्तो हुनेछ अनि ऊ कमजोर र दुब्लो हुनेछ।

“त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

“त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ।” सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।

त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ। मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए। त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ। 10 यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई, जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ।

तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्। 11 तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्यौ अर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।

12 धेरै-धेरै मानिसहरू सुन!
    तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्,
ती हल्लाहरूलाई सुन,
    ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
13 अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्,
    परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ,
अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू,
बतासले खेद्‌दै उडाई लैजाने भुस जस्ता हुने छन्।
    मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन,
    हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
14 त्यो रात मानिसहरू भयभीत हुनेछन्।
    बिहान हुन अघि केही छोडिएको हुने छैन।
यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन्
    अनि त्यहाँ केही हुनेछैन।

कूश देशलाई परमेश्वरको सन्देश

18 कूश देशसँग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन्; तिनीहरूले चलाएको पखेंटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ। त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोले[a] बनिएका डुङ्गाहरूमा पठाइन्छ।

हे फूर्तिला समाचार-वाहकहरू!
    ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्!
सबै ठाउँका मानिसहरू ती अल्गा,
    अनि बलिया मानिसहरूदेखि डराउँछन्।
तिनीहरू बलियो जाति हुन्।
    तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्।
    नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।
संसारका सारा मानिसहरूले तिनीहरूमाथि घट्ने घट्ना हेर्नेछन्।
    पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घट्ना देख्नेछन्।
ती अग्ला मानिसहरूमाथि त्यस्तो घट्ना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्।
    युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु। सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै बर्षा हुनेछैन्, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढ्ने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुटाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडँनेछन् अनि फ्याँक्नेछन्। ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।”

त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्‌याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

गलाती 1

पावल, प्रेरितबाट प्रणाम। प्रेरित[a] हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो। मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा[b] भएका मण्डलीहरूलाई प्रणाम।

परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन। परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। उनको सदा सर्वदा महिमा होस्। आमिन।

साँच्चो सुसमाचार एउटै मात्र छ

केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।

10 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।

पावलको अधिकार परमेश्वरबाट हो

11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। 12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।

13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। 14 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। 16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। 17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।

18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। 19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। 20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। 21 तब म सिरिया र सिलिसिया गएँ।

22 यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। 23 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” 24 यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।

भजनसंग्रह 58

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा, दाऊदको “मिक्ताम” भन्ने भजन।

हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ।
    तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ।
    तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।
    तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
तिनीहरूको क्रोध सर्पको बिष[a] जस्तै डरलाग्दो छ।
    साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन।
    अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।

हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्
    यसैले परमप्रभुले, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।
    तिनीहरू बाटोमा कुल्चिने जंगली झारहरू झैं होऊन्।
तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्।
    तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन्।
तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू
    जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।

10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ
    तब धार्मिक मानिस खुशी हुन्छ।
ऊ सबै शत्रुहरूलाई परास्त गर्ने
    सिपाही जस्तो हुनेछ।
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन,
    परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”

हितोपदेश 23:12

—11—

12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International