Revised Common Lectionary (Complementary)
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
मोआब इस्राएलबाट छुट्टिन्छ
4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए। 5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।
6 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे। 7 योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”
यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”
तीनजना राजाहरू एलीशासँग सल्लाह माग्छन्
8 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”
योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।”
9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। 10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”
11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”
इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”[a]
12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”
यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।
13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”
इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”
14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ। 15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”
जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो। 16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन। 17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्। 18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ। 19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”
20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो।
एक-अर्कामा तिमीहरूको नँया जीवन
12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। 15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा[a] बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।
16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।
© 2004, 2010 Bible League International