Revised Common Lectionary (Complementary)
मन्दिरतिर गइरहेको बेलाको भजन।
123 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।
मन्दिरमा दिएको यर्मियाहको उपदेश
7 यो यर्मियालाई परमप्रभुको सन्देश हो: 2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर:
“‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, 3 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।” 4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” 5 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ। 6 तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्। 7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।
8 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्। 9 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ? 10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू सम्झन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई? 11 यो मन्दिर मेरो नाउँद्वारा बोलाइन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो।
12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरें। 13 किनभने तिमीहरूले यी सब गर्यौ, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ। 14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं नष्ट पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा बोलाइन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ। 15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेंछु, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’
8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। 9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।
© 2004, 2010 Bible League International