Revised Common Lectionary (Complementary)
बेथ्
9 तपाईंको विधिहरू अपनाएर
कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
म तपाईंका वचनहरू भुल्ने छैन।
परमप्रभु नै केवल परमेश्वर हुनुहुन्छ
44 “याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्। 2 म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।
3 “म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ। 4 तिनीहरू संसारका मानिसहरूका माझमा बढ़नेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढ़ने रूखहरू जस्ता हुनेछन्।
5 “एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”
6 परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ। 7 यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।
8 “तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”
पत्रुसको मानिसहरूलाई सम्बोधन
14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। 15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। 16 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्:
17 ‘परमेश्वर भन्नुहुन्छः
अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।
तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्।
तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्।
तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
18 त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि,
मेरो आत्मा खन्याउनेछु,
अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु,
तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु।
त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
20 घाम अन्धकारमय भई बद्लिने छ,
अनि जुन रगत सरह रक्तिम हुनेछ।
तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’(A)
22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। 23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। 24 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
© 2004, 2010 Bible League International