Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें।
अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।
म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्
तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।
3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ,
आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।
4 उहाँको गौरम चम्कन्छ,
उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
5 उहाँको अघि रूढी फैलिंदै गयो
अनि विनाशक उहाँको पछि-पछि गयो।
6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो,
र तिनीहरू डरले काम्न थाले
अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे,
परमेशवर सदा यस्तै हुनुहुन्छ।
7 मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें।
मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।
8 हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो?
के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?
के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो,
के तपाईं क्रोधित हुनुहुन्थ्यो?
9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।
तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।
10 तपाईंलाई देखेर पहाडहरू काम्न थाले,
पानी पृथ्वीमा बग्न शुरु गर्यो।
जव गहिरो समुद्र भूमिबाट झर्यो
यसले ठुलो हल्ला गर्यो।
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो।
जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू,
अथवा काँडहरू जस्तै थियो।
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो,
अनि देशहरूलाई दण्ड दिनु भयो।
13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो।
जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो।
पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।
येशू आफ्ना मित्रहरूसँग बेथानीमा
(मत्ती 26:6-13; मर्कूस 14:3-9)
12 निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। 2 बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। 3 मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
4 यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन। 5 उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वद्लामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।” 6 यहूदा आफैं गरीबहरूसँग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
7 तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ। 8 गरीब मानिसहरू सधैँ तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैँ बस्ने छैन।”
लाजरस विरुद्ध षड़यन्त्र
9 येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो। 10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। 11 लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
© 2004, 2010 Bible League International