Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
धूप जलाउँनको निम्ति वेदी
30 परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ। 2 तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौंडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ। 3 वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ। 4 दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ। 5 लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर। 6 वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
7 “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउनु पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्। 8 साँझमा पनि जति बेला तिमी बत्तीको हेरचाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा-सर्वदा धूप जलाउनु पर्छ। 9 यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।
10 “बर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा-पवित्र हुनेछ।”
परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
5 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। 2 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। 3 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।
4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।
© 2004, 2010 Bible League International