Revised Common Lectionary (Complementary)
पाँचौं भाग
(भजनसंग्रह 107–150)
107 परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
उहाँको प्रेम सधैँ रहन्छ।
2 यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
3 परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।
4 तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए।
तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
तर तिनीहरूले कुनै शहर भेट्टाएनन्।
5 तिनीहरू भोका र प्यासा थिए
अनि कमजोर हुँदै गइरहेका थिए।
6 त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
7 परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो,
जहाँ तिमीहरू बस्न पाउँथे।
8 उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ।
9 परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो।
परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।
10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए।
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12 परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा
उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13 ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो।
यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे
अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो,
परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।
इस्राएलीहरू मरुभूमितिर जान्छन्
22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। 23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)
24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”
25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।
त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। 26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”
27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।
मोशाभन्दा येशू महान हुनुहुन्छ
3 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ। 2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो। 3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ। 4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। 6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
© 2004, 2010 Bible League International