Revised Common Lectionary (Complementary)
नयाँ करार
31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। 32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।
33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। 34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
बेथ्
9 तपाईंको विधिहरू अपनाएर
कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
म तपाईंका वचनहरू भुल्ने छैन।
5 उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो:
“तिमी मेरा पुत्र हौ।
आजदेखि म तिम्रा पिता भएँ।”(A)
6 धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो,
“मल्कीसेदेक जस्तो,
तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।”(B)
7 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। 8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। 9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। 10 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।
येशूले जीवन र मृत्यु विषय भन्नुहुन्छ
20 तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए। 21 ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।” 22 फिलिप गएर आन्द्रियसलाई भने। अनि फिलिप र आन्द्रियास गएर येशूलाई भने।
23 येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। 24 म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। 25 जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। 26 जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
येशूले आफ्नै मृत्युको विषयमा भन्नु हुन्छ
27 “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। 28 हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”
तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
29 उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।
तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!”
30 येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। 31 अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। 32 म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” 33 उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
© 2004, 2010 Bible League International