Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
19 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।
घामको लागि आकाश घर सरह हुन्छ।
5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
यसको तापबाट केही पनि लुक्दैन।
परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।
9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
इस्राएलसित परमेश्वरको करार पत्र
19 इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। 2 तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। 3 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, 4 ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। 5 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। 6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
7 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। 8 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”
त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। 9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।”
त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।
4 प्रभु येशू सजीव पत्थर[a] हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। 5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। 6 धर्मशास्त्रले भन्छ,
“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”(A)
7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:
“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”(B)
8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:
“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”(C)
मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
9 तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
© 2004, 2010 Bible League International