Revised Common Lectionary (Complementary)
आसापको भजन।
50 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
3 हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
6 परमेश्वर न्यायी हुनुहुन्छ
र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
यारोबामको छोरा को मृत्यु
14 त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो। 2 यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्। 3 अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”
4 यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए। 5 तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?
यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्। 6 अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्। 7 फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ। 8 दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैँ नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुशरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें। 9 तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ। 10 यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु। 11 शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।’”
12 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ। 13 सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ। 14 परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घट्ना चाँडै नै हुनेछ। 15 तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे। 16 यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”
17 यारोबामकी पत्नी तिर्सा शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो। 18 सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।
परमेश्वरलाई उहाँको कृपाको निम्ति धन्यवाद
12 हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो। 13 अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन। 14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ। 16 तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो। 17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।
18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड। 19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।
© 2004, 2010 Bible League International