Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 40:21-31

21 निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र?
    निश्चय तिमीहरूले सुनेका छौ।
    निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ।
    निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
22 परमप्रभु नै साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ,
    अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्।
उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो।
    बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
23 उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ।
    उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
24 ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन्
    तर तिनीहरूले माटोमा जराहरू हाल्नु अघि नै
परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने
    तिनीहरू सुक्खा र मृत हुन्छन
    अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
25 परम-पवित्र परमेश्वरले भन्नुहुन्छ,
“के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह।
    मेरो बराबर कोही पनि छैन।”

26 माथि आकाशमा हेर ती ताराहरू कसले रचे?
    कसले ती सारा “सैन्यहरू” आकाशमा रचे?
प्रत्येक ताराको नाउँ कसले जान्दछ?
    साँच्चो परमेश्वर अत्यन्त बलवान
र शक्तिशाली हुनुहुन्छ,
    यसैले कुनै पनि तारा हराउँदैनन्।

27 हे याकूबका मानिसहरू! यो सत्य हो।
    इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ।
यसैले तिमी किन भन्छौ, “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्।
    परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”

28 नि:सन्देह तिमी जान्दछौ र सुनेकाछौ कि
    परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ।
मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ।
    परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन।
परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो
    परमप्रभु सनातनका परमेश्वर हुनुहुन्छ।
29 परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो।
    उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
30 जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ,
    तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
31 तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ
    ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ।
ती मानिसहरू दुर्वल नभई दगुर्छन्।
    ती मानिसहरू थकित नभई हिँड्छन्।

भजनसंग्रह 147:1-11

147 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
    परमप्रभुप्रति स्तुतिगान गर!
    उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
परमप्रभुले यरूशलेम बनाउनु भयो।
    परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
    जसलाई कैदी बनाएर थुनिएको थियो।
परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
    तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
परमेश्वरले ताराहरू गन्नुहुन्छ,
    र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
    उहाँको ज्ञान अपार छ।
परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
परमप्रभुलाई धन्यवाद होस्।
    हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
    परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
    परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
    परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
    उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
    परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
    जसले उहाँको प्रेममा भरोसा राख्छन्।

भजनसंग्रह 147:20

20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
    परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।

परमप्रभुको प्रशंसा गर!

1 कोरिन्थी 9:16-23

16 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। 17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। 18 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।

19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।

मर्कूस 1:29-39

येशूद्वारा अनेकौं मानिसहरू निको भए

(मत्ती 8:14-17; लूका 4:38-41)

29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। 30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। 31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।

32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। 33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। 34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

येशूद्वारा सुसमाचार सुनाउने योजना

(लूका 4:42-44)

35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”

38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International