Revised Common Lectionary (Complementary)
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
अब्रामलाई परमेश्वरको करार
15 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
2 अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” 3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”
4 त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”
5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।
12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो। 13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ। 14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।
15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो। 16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।
18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घर्ती दिनेछु।
प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ
21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। 22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। 23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। 24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। 25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। 26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।
27 यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। 28 किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ। 29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। 30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। 31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
© 2004, 2010 Bible League International