Imprimir Opciones de la página Listen to Reading
Anterior Día anterior Día siguienteSiguiente

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 6:12-8:10

सुलेमानको प्रार्थना

12-13 सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए। सुलेमानले 5 हात लामो, 5 हात चौंडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए। 14 सुलेमानले भनेः

“इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने। 15 तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो। 16 अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’ 17 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।

18 “तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन। 19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ। 20 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु। 21 मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।

22 “कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ। 23 तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।

24 “यदि शत्रुले तपाईंका इस्राएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरूद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने। 25 तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।

26 “केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इस्राएलका मानिसहरूले तपाईंको विरूद्ध पाप गरे। यदि यसो भए इस्राएका मानिसहरूले पश्चाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोड्छन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदैछ। 27 तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा बर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।

28 “देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला, 29 अनि त्यस बेला कुनै पनि तपाईंका इस्राएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीढा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फैलाउला। 30 त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ। 31 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।

32 “कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्। 33 तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इस्राएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।

34 “तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्। 35 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।

36 “मानिसहरूले तपाईंको विरूद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्नुहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्न दिनुहुनेछ अनि अति टाढ वा नजिकको देशमा जान वाध्य तुल्याउनु हुनेछ। 37 तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले दुष्टता पूर्वक काम गरेका छौं।’ 38 अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्। 39 जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्। 40 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।

41 “अब, हे परमप्रभु परमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा,
    करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ।
तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्।
    तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।
42 हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्।
    तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”

परमप्रभुलाई मन्दिर समर्पित

जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए,

“परमप्रभु असल हुनुहुन्छ।
    उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।”

त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए। राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो। पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको सँगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।

सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।

सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए। 10 सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै हर्षित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।

परमप्रभु सुलेमान कहाँ आउनु हुन्छ

11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। 12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो,

“सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। 13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। 14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। 15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। 16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ। 17 अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने। 18 तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पितासँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’

19 “तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने। 20 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्। 21 प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’ 22 त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।’”

सुलेमानले निर्माण गरेका शहरहरू

परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस बर्ष लाग्यो। त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए। त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे। सुलेमानेले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू सँग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे। सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए। सुलेमानले वालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू सँग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोड-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे।

7-8 त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कर्मीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्। ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्। सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए। 10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।

रोमी 7:14-8:8

मानसिका द्वन्द्व

14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।

21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!

यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

आत्मा र जीवन

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

भजनसंग्रह 18:1-15

प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।

उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
    तपाईं मेरो शक्ति हुनुहुन्छ।”

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
    परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।

मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
    अनि म मेरो शत्रुहरूबाट बाँचे।
    तर तिनीहरूले खिल्ली उडाए।
मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
    म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
    मृत्युको पासो मेरो सम्मुख थियो।
म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
    हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
    उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
पृथ्वी थर्कियो र काम्यो;
    पर्वतहरूको जग हल्लियो।
    किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
    परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
    अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
परमप्रभुले आकाश च्याति दिनु भयो,
    अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
    उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
    उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
    सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
    परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
    अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
    हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

हितोपदेश 19:24-25

24 एकजना अल्छेले उसको हात भाँडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।

25 मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International