Imprimir Opciones de la página Listen to Reading
Anterior Día anterior Día siguienteSiguiente

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 20:1-22:2

हिजकियाह बीरामी मरणासनमा

20 त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’”

हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थना गरे अनि भने, “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाईंको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभएको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।

यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो, “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ। अनि म तिम्रो जीवनमा 15 बर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।’”

तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।”

यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।

हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”

यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”

10 हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।”

11 तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलोको छाँया दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।

हिजकियाह अनि बाबेलको मानिसहरू

12 त्यस समयमा बलदानका छोरा बरोदक बलदान बाबेलका राजा थिए। उनले पत्रहरू र एउटा उपहार हिजकियाहका लागि पठाए। बरोदक बलदानले यस्तो यसकारण गरे किनभने उनले सुनेका थिए हिजकियाह बिरामी भएका छन्। 13 हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।

14 तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?”

हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”

15 यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?”

हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”

16 तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन। 17 समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ। 18 बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”

19 तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” (हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चो शान्ति हुनेछ।”)

20 सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 21 हिजकियाहको मृत्युभयो अनि उनलाई उनका पिता-पुर्खाहरूसँगै गाडियो। अनि हिजकियाहको छोरा मनश्शे उनीपछि नयाँ राजा भए।

मनश्शे यहूदामा कुशासन शुरू गर्छन्

21 मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।

मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे। मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।

मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो। मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।” तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।

10 परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः 11 “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। 12 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। 13 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु। 14 तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। 15 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्। 16 अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।’”

17 सबै कामहरू जो मनश्शेले गरे जसमा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 18 मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।

आमोनको छोटो शासन

19 आमोन 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ बर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्।

20 आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। 21 आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए। 22 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।

23 आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे। 24 साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।

25 आमोनले गरेको अरू कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 26 आमोनलाई उज्जाका बगैंचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।

योशियाह यहूदामा आफ्नो शासन शुरू गर्छन्

22 योशियाह आठ बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 बर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन। योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।

प्रेरित 21:18-36

18 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए। 19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृतान्त सुनाए।

20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ। 21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।

22 “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्। 23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्। 24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।

25 “गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः

‘मूर्तिहरूमा चढाएको खाद्य नखानु।

निमोठेर मारेका पशू नखानु, रगत नखानु।

र कुनै प्रकारको व्यभिचार नगर्नु।’”

पावलको पक्राऊ

26 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिइने त्यसको उद्घोषण गर्न तिनी मन्दिरभित्र गए।

27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे। 28 तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!” 29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसँग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।

30 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए। 31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए। 32 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।

33 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा साङ्लाहरूले बाँध्नु भनी हुकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?” 34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन्। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे। 35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए, “त्यसलाई मार!”

भजनसंग्रह 150

परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
    उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
    उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
    वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
    तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
    बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
    झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!

प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 18:9-10

यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरेर गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।

10 परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International