Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 22-23

22 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

दाऊदले मन्दिर निमार्णको निम्ति योजना बनाउँछन्

दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्ने मानिसहररू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउँनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो। दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें।

त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने। दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउँन चाहन्थें। तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्। तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु। 10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउँनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।’”

11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर। 12 जसरी पनि परमप्रभुले तँलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्। 13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो।

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा[a] सुन दिएको छु। अनि लगभग दश लाख तोडा[b] चाँदी दिएको छु। मैले यति धेरै काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्। 15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्। 16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहुन्।”

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए। 18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्। 19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

लेवीहरूका निम्ति मन्दिरमा सेवाकार्यका योजनाहरू

23 दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए। दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे। दाऊदले तीस बर्ष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए। दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्। चारहजार लेवीहरू द्वार-पाल हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”

दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

गर्शोनका परिवार समूह

गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए। लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए। शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।

10 शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए। 11 यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।

कहातका परिवार समूह

12 कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए। 13 अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदा-सर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।

14 जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए। 15 मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए। 16 गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए। 17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।

18 यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।

19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साँहिला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

20 उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।

मरारीका परिवार समूह

21 मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए। 22 एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए। 23 मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

लेवीका कार्यहरू

24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस बर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।

25 दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा-सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ। 26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोग गरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

27 इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।

28 लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो। 29 मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे। 30 लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे। 31 शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो। 32 तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।

रोमी 3:9-31

सबै मानिसहरू दोषी छन्

यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं। 10 धर्मशास्त्रले भन्दछ,

“त्यहाँ पापरहित मानिस कोही छैनन्।
    एउटै पनि छैनन्!
11 त्यहाँ कोही बुझ्झकी मानिस छैनन्।
    त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।
12 सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्,
    अनि सबै बेकम्मा भएका छन्।
असल कर्म गर्ने कोही छैन।
    एकैजना पनि छैन।”(A)

13 “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्।
    तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।”(B)

“तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।”(C)

14 “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।”(D)

15 “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्।
16     जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
17 तिनीहरू शान्तिको बाटो जान्दैनन्।”(E)

18 “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”(F)

19 हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ। 20 किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।

प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ

21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। 22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। 23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। 24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। 25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। 26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।

27 यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। 28 किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ। 29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। 30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। 31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

भजनसंग्रह 12

प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।

हे परमप्रभु मलाई बचाउँनु होस्!
    अब धार्मिक मानिसहरू छैनन्।
    त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
    प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
    परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
    के भन्नु पर्ने हामी जान्दछौं,
    यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
तर परमप्रभु भन्नुहुन्छ,
    “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
    तर म ती असहाय मानिसहरूको
    पक्ष लिएर लडाइईँ गर्नेछु।”
परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
    तातो आगोमा बिलाएको चाँदी जस्तो,
    तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
    तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
    तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
    जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

हितोपदेश 19:13-14

13 मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो।

14 धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International