Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 8:11-10:19

11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”

12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए। 13 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए। 14 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए। 15 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्।

16 सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।

17 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोत शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए। 18 हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।

शबाकी रानीले सुलेमानलाई भेट्छिन्

शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए। सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन। शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्। तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्हपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बस्त्र पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बस्त्रहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जव शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।

तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। म यहाँ आएर आफ्नै आँखाले नदेखुन्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ। तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्। परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”

तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।

10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए। 11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।

12 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।

सुलेमानको अपार सम्पत्ति

13 सुलेमानले एक बर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो। 14 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।

15 राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल-ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो। 16 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।

17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे। 18 सिंहासनमा छःवटा सिंढीहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए। 19 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।

20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।

21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन बर्षमा सुन, चाँदी हस्ती-हाड अनि ढेंडु र बाँदरहरू लादिएर तर्शीशबाट फर्किन्थे।

22 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए। 23 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे। 24 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।

25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे। 26 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए। 27 राजा सुलेमानसित यति विघ्न चाँदी थियो कि त्यो यरूशलेमका ढुङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए। 28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।

सुलेमानको मृत्यु

29 सुलेमानद्वारा अन्य कुराहरू शुरू देखि अन्तसम्म गरिएका, अगमवक्ता नातानका लेखहरूमा, शीलोका अहियाहका अगमवाणी अनि दर्शी इद्दोका दर्शनमा लेखिएका छन्। इद्दोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए। 30 सुलेमान चालीस बर्षसम्म यरूशलेममा सम्पूर्ण इस्राएलका राजा थिए। 31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

रहबामले मूर्खता पूर्ण काम गर्छन्

10 रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए। यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए।

रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए। इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम, तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”

रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।

तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”

ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”

तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए। रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”

10 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।’ तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ। 11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।’”

12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”

13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्। 14 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्राद्वारा दण्ड दिने छु।” 15 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।

16 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अँहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अँहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए। 17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।

18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए। 19 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।

रोमी 8:9-25

तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। 11 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।

12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

हामीले भविष्यमा महिमा पाउने छौ

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।

भजनसंग्रह 18:16-36

16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
    परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
    मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
    तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
    उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
    मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!
    मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
    म उहाँको नियमहरू मान्दछु!
23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
    मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ।
    यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।

25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।
    यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
    तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
    मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
    परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

30 परमेश्वरको शक्ति पूर्ण छ।
    उहाँको वचन प्रमाणित भएको छ।
    उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
    त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
    उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
    उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
    यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।

35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
    तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
    तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
    यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

हितोपदेश 19:26

26 जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International