Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 4:5-5:17

तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो। नारा अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारीकी आमा थिइन्। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए। हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए। कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।

याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिंदा म अति वेदनमा थिएँ।” 10 याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनुहोस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।

11 कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए। 12 एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

13 कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए। 14 मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।

15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।

16 यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।

17-18 एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।

19 मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए। 20 शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए।

यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।

21-22 यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्। 23 शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउँथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।

शिमोनका सन्तानहरू

24 शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए। 25 शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।

26 मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए। 27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।

28 शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल, 29 बिल्हा, एसेम, तोलाद, 30 बतूएल, होर्मा, सिक्लग, 31 बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे। 32 यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए। 33 त्यहाँ यो बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारको इतिहास पनि लेखे।

34-38 यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।

यी मानिसहरूका परिवारहरू खुबै विशाल भए। 39 तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेंडा र गाई बस्तुका निम्ति खर्क खोज्न गए। 40 तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे। 41 यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेंडाहरूका निम्ति घाँस थियो।

42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे। 43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।

रूबेनका सन्तानहरू

1-3 इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे।

रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।

यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए। शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए। बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।

योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह, अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे। बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरू थिए। 10 जब शाऊल राजा थिए। त्यो बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।

गादका सन्तानहरू

11 गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे। 12 बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए। 13 तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए। 14 ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए। 15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।

16 गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका स-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै खर्कहरूमा बस्थे।

17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।

प्रेरित 25

पावलले सम्राट सिजरलाई भेट्न चाहन्थे

25 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”

फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्। तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

10 पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। 11 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

12 फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”

पावल हेरोद अग्रिपा समक्ष

13 केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए। 14 तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ। 15 जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न्। 16 तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’

17 “यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसें अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ। 18 यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिएँ। 19 जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्। 20 म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’ 21 तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यहीं राख्नु।”

22 अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।”

फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”

23 अर्को दिन आग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे।

24 फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसँग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन। 25 जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैंले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें। 26 तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु। 27 उसको विरोधमा दोषहरू नऔंल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

भजनसंग्रह 5

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
    र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
हे मेरा राजा, हे मेरा परमेश्वर,
    मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
    र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
    तिनीहरू तपाईंको आदर गर्दैनन्।
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
    तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।

तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
    यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
ती मानिसहरू सत्य बोल्दैनन्।
    तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
    तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
    तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
    यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
    परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
    तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

हितोपदेश 18:19

19 यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International