Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।
51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
3 म जान्दछु मैले पाप गरें।
म सधैँ ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्!
ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
मानिसहरू दुष्ट हुन्छन्
6 पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। 2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।
3 तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।”
4 यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।
5 परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। 6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।
1 ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।
2 तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।
झूटो शिक्षाहरूको विरूद्ध चेतावनी
3 जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ। 4 तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। 5 यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ। 6 कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे। 7 त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।
8 हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ। 9 हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्। 10 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन। 11 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।
© 2004, 2010 Bible League International