Revised Common Lectionary (Complementary)
मेम्
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
इस्राएली मानसिहरूले आफ्ना पाप स्वीकार गरे
9 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भाङ्ग्रा लगाए अनि तिनीहरूले आफैं माथि धूलो हाले। 2 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे। 3 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे।
4 तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वरसँग कराए। 5 तब लेवी येशूअ, कद्मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:
“उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।
किनभने उहाँ शुरू देखि अन्त सम्म जीवित हुनुहुन्छ।
तपाईंको महिमित नाउँको स्तुति होस।
यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
6 तपाईं परमेश्वर हुनुहुन्छ,
हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग
अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।
तपाईंले पृथ्वी
अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू
अनि त्यसमा भएका
हरेक बस्तुहरू बनाउनु भयो।
तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,
अनि स्वर्गका तारा-मण्डलले
तपाईंको आराधना गर्छन्।
7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो,
अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए
यसर्थ तपाईंले ऊसित
कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि
उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो।
तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो
किनभने तपाईं धर्मी हुनुहुन्छ।
9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो,
अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।
10 तपाईंले चिन्हहरू र आश्चर्यमय कुराहरू
फिरऊन मिश्रदेशका राजा
अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो,
किनभने तिनीहरूले हाम्रा पुर्खाहरूलाई,
अत्याचार गरेको तपाईंलाई थाहा थियो।
तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,
अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए।
तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै
तपाईंले फ्याँकिदिनु भयो।
12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो
अनि राती आगोको ज्वाला सहित
तिनीहरू हिँड्नु पर्ने बाटो
उज्यालो पारी डोर्याउनु भयो।
13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो
अनि तिनीहरूलाई उचित न्याय
र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो
अनि तपाईंले तिनीहरूलाई
असल आदेश र आज्ञाहरू दिनुभयो।
14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
15 तपाईंले तिनीहरू भोककाएको बेला
तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो,
अनि तिनीहरू तिर्खाएको बेला
चट्टानबाट पानी दिनुभयो
तपाईंले तिनीहरूलाई
जाऊ अनि गएर तिनीहरूलाई
दिन्छु भनी वचन दिएको भूमि
अधिकारमा लेऊ भन्नुभयो।
पति र पत्नीहरू
21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।
22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।
25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।
28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”(A) 32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।
बालकहरू र आमा-बाबुहरू
6 बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः 2 धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।”(B) यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ। 3 त्यो प्रतिज्ञा होः “तब तिम्रो हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।”(C)
4 पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।
कमाराहरू र मालिकहरू
5 कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ। 6 तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान। 7 आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन। 8 याद राख, ऊ कमारा होस् कि मुक्त होस् राम्रो काम गर्ने हरेकालाई पुरस्कार दिने प्रभु नै हुनुहुन्छ।
9 अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।
© 2004, 2010 Bible League International