Revised Common Lectionary (Complementary)
9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
13 अय्यूबले भन्यो,
“यी सबै मैले पहिल्यै देखेको छु।
तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु।
म ती सबै कुराहरू बुझ्छु।
2 तिमीले जाने जति म पनि जान्दछु।
म तिमी जतिकै तेज छु।
3 तर म तिमीसँग तर्क गर्न चाहन्न।
म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु।
म परमेश्वरसँग आफ्ना सङ्कट विषयमा बहश गर्न चाहन्छु।
4 तर तिमीले हाम्रो बातचीतलाई झूटो कुराले कलंकित पार्छौ।
तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
5 म चाहन्छु तिमीहरू चूपचाप बस।
त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
6 “अब, मेरो तर्कमा ध्यान देऊ।
म के भन्छु त्यसमा ध्यानदेऊ।
7 के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ?
के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झूटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
8 उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ?
के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौ?
तिमीहरूले निष्पक्ष भएका छैनौ।
9 यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने,
के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ?
जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के
परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने
तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 परमेश्वरको महा-महिमाले तिमीहरूलाई भयभीत पार्नेछ।
तिमीहरू उहाँदेखि डराउँछौ।
12 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
तिमीहरूका बहशहरू बेकामे छन्।
13 “चूपचाप बस र मलाई बोल्न देऊ।
जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 म स्वयंलाई सङ्कटमा राख्ने छु,
अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछु।
15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छ,
तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु।
तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए,
त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
कुनै पनि दुष्ट मानिसले परमेश्वरको समक्ष सामना गर्न सक्तैन।
17 मैले भनेको कुरा ध्यान दिएर सुन।
मलाई व्याख्या गर्न देऊ।
18 म आफैं मेरो मामिलामा बचाऊ गर्न तत्पर छु।
म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु।
म जान्दछु म उचित नै ठहरिनेछु।
19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
तब म तुरन्तै चुप लाग्नेछु।
7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” 8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। 12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”
येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।”
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। 22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
© 2004, 2010 Bible League International