Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
36 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2 त्यो मानिस आफैंसित झूटो हुन्छ।
त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4 राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।
5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।
12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”
यूसुफ फिरऊनको निम्ति भूमि किन्छन्
13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो। 14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए। 15 केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”
16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।” 17 यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस बर्ष यूसुफले मानिसहरूबाट भेंडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।
18 तर अर्को बर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन। 19 अब हामी तपाईंको नजरको सामुन्ने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”
20 यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे। 21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए। 22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।
23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।
24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”
25 मानिसहरूले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”
26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”
येशूद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी
(मत्ती 16:5-12)
14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। 15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।”
17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ? 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें। 19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?”
चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।”
20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”
चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न् सकेका छैनौ?”
© 2004, 2010 Bible League International