Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः अलामौथ ‘बिन’ रागमा गाउने दाऊदको भजन।
9 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
तर तिनीहरू लडे र नष्ट भए।
4 तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।
हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
अब, खाली भग्नावशेष मात्र छाडिएका छन्।
ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
7 तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ।
परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।
8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
9 धेरै मानिसहरू संकष्टमा फँसेका छन्
र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
तपाईंमाथि भरोसा राख्ने नै छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
जसले उहाँलाई गुहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।
13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
मेरो शत्रुहरूले मलाई सताइरहेछन्,
‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”
अय्यूबले एलीपजलाई जवाफ दिंदछ
16 तब अय्यूबले जवाफ दिए,
2 “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
3 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइनन्।
किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
4 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें
यदि तिमीहरूसँग मेरो जस्तै सङ्कटहरू भए।
म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थें
अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
5 तर म तिमीलाई उत्साह दिउँला,
अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
6 “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
तर चुपचाप बसिरहनु पनि लाभ छैन।
7 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
8 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
9 “परमेश्वर क्रोधित हुनुभयो,
अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो।
मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो।
अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
10 मानिसहरूले मेरो वरिपरि थुप्रेर,
तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
11 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो।
मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन
अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन
तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो।
तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो
र मलाई उहाँको तारोको रूपमा प्रयोग गर्नुभयो।
13 परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्।
उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो।
उहाँले ममाथि दया देखाउनु भएन
उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ।
उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दौड्नु हुन्छ।
15 “म अत्यन्त उदास छु,
यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु।
म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु,
अनि म पराजित भएको ठान्छु।
16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
17 मैले कसैलाई नोक्सान गरेको छैन।
तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो।
मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
18 “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो।
मेरो न्यायको पुकारलाई नरोक।
19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
20 मेरो साथीहरूले मलाई हप्काउँछ।
मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
असल र खराब नोकरहरू
(लूका 12:41-48)
45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ। 46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो। 47 म तिमीहरूलाई साँच्चो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउँछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ? 49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ। 50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। 51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।
© 2004, 2010 Bible League International