Revised Common Lectionary (Complementary)
118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
2 इस्राएल ले यसो भन्छ,
“उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
17 म बाँच्ने छु मर्ने छैन
अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं!
परमेश्वरको पवित्र सन्दूक यरूशलेम पुर्याइयो
6 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए। 2 तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाँहि यी परीहरूका माझमा राजा झैं बस्नु भएको छ। 3 पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे। 5 दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए। 6 जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। 7 तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। 8 दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।
9 त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” 10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। 11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। 13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए। 14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले।
येशू मृत्युबाट बौरी उठे
(मत्ती 28:1-10; मर्कूस 16:1-8; यूहन्ना 20:1-10)
24 हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए। 2 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए। 3 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्। 4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए। 5 ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ? 6 येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ? 7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।” 8 तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।
9 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घट्नाहरू बारे तिनीहरूले भने। 10 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घट्नाहरू सुनाए। 11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्। 12 तर पत्रुस जुरूक्कै उठ्यो अनि चिहान तिर दगुर्यो। त्यो निहुरियो अनि हेर्यो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।
© 2004, 2010 Bible League International