Revised Common Lectionary (Complementary)
मन्दिरतर्फ जाँदा दाऊदको भजन।
121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
तर मेरो सहायता कहाँबाट आउँछ?
2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
परमप्रभुबाट आउँछ।
3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,
तिम्रो संरक्षक निदाई जाने होइन।
4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
परमेश्वर कहिल्यै निदाउनु हुन्न।
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
6 तिमीलाई दिउँसो घामले
अनि राती जूनले हानि पुराउँदैन।
7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
2 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा़ होऊ र म तिमीसित कुरा गर्नेछु।”
पावल राजा अग्रिपा समक्ष
26 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। 2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। 3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
4 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। 5 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। 6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। 7 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। 8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?
9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। 10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। 11 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।
पावलले येशूलाई देखेको कुरा भन्दछ
12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए। 13 हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसँग जाने मानिसहरूका वरिपरि चम्कियो। 14 हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसँग लडेर केवल आफैंलाई चोट पुर्याइरहेका छौ।’
15 “मैले भने, ‘तिमी को हौ प्रभु?’
“प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ। 16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ। 17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु। 18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’”
© 2004, 2010 Bible League International