Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।
46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
2 यसैकारण भुइँचालो आए ता पनि
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
र पर्वतहरू थर्किन्छन्।
4 त्यहाँ एउटा नदी छ जसको धाराले
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
म जाति-जातिलाई परास्त गर्नु सक्छु,
म संसारलाई अधीनमा राख्न सक्छु!”
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
12 मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”
13 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”
15 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”
16 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेंडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।’”
17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”
18 मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर। 19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने। 20 तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने उभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’ 21 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूटो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि त्यसै गर।’”
22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
येशूको बलिदानले पापहरू पखालिन्छ
23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ। 24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।
25 प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढ़ाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढ़ाउन होइन। 26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैँ भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैंलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ। 28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।
© 2004, 2010 Bible League International