Revised Common Lectionary (Complementary)
20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। 21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”
22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। 23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? 24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? 25 साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रम्हाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ 28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”
29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”
30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”
31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”
32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
दाऊदको भजन।
138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
म तपाईंको नाउँको प्रशंसा गर्छु,
तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
किनभने परमप्रभुको महिमा महान् छ।
6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
ख्रीष्टमा स्थिर होऊ
6 तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। 7 तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।
8 सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्। 9 परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। 10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।
11 ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। 12 यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।
13 तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो। 14 हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो। 15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।
मानिसहरूले बनाएको नियमहरू नमान
16 यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस् (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)। 17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ। 18 कसै-कसैले वाहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।” 19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ।
येशूद्वारा प्रार्थना बिषय-शिक्षा
(मत्ती 6:9-15)
11 एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”
2 येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर,
‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।
3 दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
4 हाम्रा पापहरू क्षमा गरीदिनुहोस्,
जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं।
अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”
लगातार प्रश्न
(मत्ती 7:7-11)
5-6 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ 7 घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। 8 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। 9 फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। 11 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै। 12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! 13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”
© 2004, 2010 Bible League International