Revised Common Lectionary (Complementary)
त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।
34 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
2 नम्र मानिसहरू! सुन र खुशी बन।
मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
3 मसँग-सँगै परमप्रभुको स्तुति गर!
र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
अनि उहाँले मलाई उत्तर दिनुभयो।
मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
तिमी लज्जित हुनु पर्ने छैन,
उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
हूशैले दाऊदलाई चेतावनी पठाउँछन्
15 हूशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हूशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हूशैले भने, 16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”
17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे।
18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। 19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। 20 अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”
त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”
अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।
21 अब्शालोमको नोकर हिँडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”
22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।
अहीतोपेलले आत्माहत्या गर्छन्
23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।
अब्शालोमले यर्दन नदी पार गरे
24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए। 25 अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्। 26 अब्शालोम र इस्राएलीहरूले गिलादमा छाउनी बसाए।
शोबी, माकिर अनि बर्जिलाइ
27 दाऊद महनैम पुगे। शोबी, माकीर र बर्जिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। बर्जिलाइ गिलादका रोग्लीमबाट थिए।) 28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।
एक अर्कोलाई सघाऊ
6 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। 2 एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। 3 यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। 4 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। 5 प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।
जीवन खेत रोपे जस्तो हो
6 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।
7 आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। 8 यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। 9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
© 2004, 2010 Bible League International