Revised Common Lectionary (Complementary)
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
5 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9 ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
पूजाहारी यहोशूले एउटा मुकुट पाउँछन्
9 तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 10 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। 11 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। 12 तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ:
‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ।
त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ
र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ
अनि सम्मान गरिनेछ।
यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ।
ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ
र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’
14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”
15 टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।
जिउँदो आशा
3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। 4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।
5 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। 6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। 7 यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। 9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।
© 2004, 2010 Bible League International