Revised Common Lectionary (Complementary)
118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
2 इस्राएल ले यसो भन्छ,
“उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
17 म बाँच्ने छु मर्ने छैन
अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं!
पाँचौं दिन—माछा र चराहरू
20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। 21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
22 परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।
23 त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
छैटौं दिन—स्थल-चर र मानिसहरू
24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।”
27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। 28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”
29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्। 30 म फेरि पशुहरूलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो।
31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।
त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
सातौं दिन—विश्राम
2 यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। 2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। 3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
मानव जातिको शुरु
4 आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो।
50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। 51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः
“मृत्यु विजयमा निलिएको छ।”(A)
55 “हे मृत्यु! तेरो विजय कहाँ छ?
चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”(B)
56 मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। 57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।
58 यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
© 2004, 2010 Bible League International