Revised Common Lectionary (Complementary)
गिमेल्
17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
अनि तपाईंको आज्ञा पालन गर्नसकौं।
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्,
ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ।
परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
20 म सारा समय तपाईंको विधिहरू
अध्ययन गर्न चाहन्छु।
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्,
किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
मैले तपाईंको करार पालन गरेको छु।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
तर म तपाईंको दास हुँ, हे परमप्रभु!
अनि मैले तपाईंको नियमहरू पढेकोछु।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
यसले मलाई हितकारी परामर्श दिंदछ।
अराम इस्राएललाई फसाउने चेष्टा गर्छ
8 अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”
9 तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”
10 इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।
11 अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”
12 अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”
13 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।”
सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”
14 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे। 15 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।
एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”
16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”
17 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।”
परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।
18 ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसँग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।”
तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो। 19 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुशरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।
20 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।”
तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्। 21 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”
22 एलीशाले जवाफ दिए, “अँहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।”
23 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।
पत्रुस लिड्डामा र जोप्पामा
32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। 33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो 34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। 35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।
© 2004, 2010 Bible League International