Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
25 हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
2 हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
र म कहिले निराशा हुने छैन।
मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
3 यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
तर विश्वासघातीहरू निराशा हुनेछन्।
तिनीहरूले केही पनि पाउने छैनन्।
4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
5 बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
6 हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
7 म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।
8 परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
9 जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।
6 तपाईं परमेश्वर हुनुहुन्छ,
हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग
अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।
तपाईंले पृथ्वी
अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू
अनि त्यसमा भएका
हरेक बस्तुहरू बनाउनु भयो।
तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,
अनि स्वर्गका तारा-मण्डलले
तपाईंको आराधना गर्छन्।
7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो,
अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए
यसर्थ तपाईंले ऊसित
कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि
उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो।
तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो
किनभने तपाईं धर्मी हुनुहुन्छ।
9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो,
अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।
10 तपाईंले चिन्हहरू र आश्चर्यमय कुराहरू
फिरऊन मिश्रदेशका राजा
अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो,
किनभने तिनीहरूले हाम्रा पुर्खाहरूलाई,
अत्याचार गरेको तपाईंलाई थाहा थियो।
तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,
अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए।
तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै
तपाईंले फ्याँकिदिनु भयो।
12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो
अनि राती आगोको ज्वाला सहित
तिनीहरू हिँड्नु पर्ने बाटो
उज्यालो पारी डोर्याउनु भयो।
13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो
अनि तिनीहरूलाई उचित न्याय
र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो
अनि तपाईंले तिनीहरूलाई
असल आदेश र आज्ञाहरू दिनुभयो।
14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
15 तपाईंले तिनीहरू भोककाएको बेला
तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो,
अनि तिनीहरू तिर्खाएको बेला
चट्टानबाट पानी दिनुभयो
तपाईंले तिनीहरूलाई
जाऊ अनि गएर तिनीहरूलाई
दिन्छु भनी वचन दिएको भूमि
अधिकारमा लेऊ भन्नुभयो।
प्रभुको आगमनको लागि तयार बस
5 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। 2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। 3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। 5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। 6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। 7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। 8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।
9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
© 2004, 2010 Bible League International