Revised Common Lectionary (Complementary)
चौथो जनावरको न्याय
9 “मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो
अनि त्यसमा प्राचीन राजा बस्नु भयो।
उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो,
अनि कपाल सेतो ऊन जस्तो थियो।
उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो
र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
10 उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो।
हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए।
दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए।
तब न्यायधीश न्याय दिन बसे,
अनि किताबहरू खोले।
13 “मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।
14 “एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ, त्यो नष्ट हुनेछैन।
93 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
यूहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्
4 यहून्नाबाट,
एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:
अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा 5 अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। 6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।
7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा[a] हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”
34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”
35 पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”
36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?”
येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
© 2004, 2010 Bible League International